भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो, राजमार्ग अवरुद्ध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भीमफेदी–कुलेखानी सडकखण्ड र कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो, राजमार्ग अवरुद्ध

सुवास विडारी

मकवानपुर — अविरल वर्षाका कारण तराईलाई काठमाडौंसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी–कुलेखानी सडक खण्ड र कान्तिलोकपथका विभिन्न स्थानमा पहिरो खसेपछि दुवै मार्ग अवरुद्ध बनेका छन् ।

भीमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत् इन्द्रसरोबर–२, देउराली नजिक बुधबार र बिहीबार बिहान गएको पहिरोका कारण उक्त सडकखण्ड अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ‘पहिरो पन्छाउने र झर्ने क्रम चलिरहेको छ । यो सडकखण्डको स्तरोन्नतिको काम भएका कारण पनि यसवर्ष बढी पहिरो झरेको हो ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले भने ।

रानाका अनुसार कान्तिलोकपथ अन्तर्गत् बकैया गाउँपालिका–११, सिमात नजिकै, बैकया– १२, ठिङ्गन नजिकै पहिरो गएकाले लोकपथ पनि अवरुद्ध रहेको छ । यस मार्ग लामो समयदेखि निर्माणको क्रममा रहेको भएपनि वर्षातको समयमा धेरै स्थानमा पहिरो खस्ने गरेको छ । ‘कान्तिलोकपथको तत्काल पन्छाउन सक्ने अवस्था छैन । मकवानपुरमा मात्र होइन । ललितपुरपट्टि पनि पहिरो गएको छ ।’, रानाले भने ।

प्रकाशित : आश्विन ८, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्

ललितपुरमा पहिरो जाँदा घाइते भएकाको अझै उद्धार भएन

प्रशान्त माली

काठमाडौँ — बुधबार साँझ ५ बजे पहिरोमा परेर घाइते भएका ५ जनाको अझै उद्धार हुन सकेका छैनन् । केही दिनदेखि परेको अविरल वर्षाका कारण दक्षिण ललितपुरको वाग्मती गाउँपालिका–३ कान्ति लोकपथ खण्ड, भट्टेडाँडास्थित पाङदुर गहिरोमा गएको पहिरोमा परेर उनीहरु घाइते भएका थिए ।

घाइतेमध्ये कुमार नगटकोटीको दाँया खुट्टा भाँच्चिएको र सुरेन्द्र थापा मगरको ढाडमा गम्भीर चोट लागेको छ । सरुख अलाम, सागर घले, केशव विक भने सामान्य घाइते भएका छन् । महानगरीय प्रहरी प्रभाग भट्टेडाँडा प्रमुख प्रहरी निरीक्षक सन्तोष बरालले घाइतेहरुको बगुवास्थित एक व्यक्तिको पसलमा राखेर सामान्य उपचार भइरहेको बताए ।

वाग्मती गाउँपालिका प्रमुख वीरबहादुर लोप्चनले घाइतेको उद्धार हेलिकप्टरमार्फत गर्न गृहमन्त्रालयमा कुराकानी भइसकेको बताए । ‘बाक्लो कुहिरोको कारणले गर्दा हेलिकप्टर पुग्न सक्ने अवस्था छैन । निरन्तर वर्षाका कारण पहिरो पन्छाएर घाइतेको सडकमार्फत अस्पताल पुर्‍याउने सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘मौसम अनुकुल भएपछि हेलिकप्टर उद्धार तयारीमा छ ।’

पहिरोको कारणले दुईटा ट्रिपरको अगाडिको भाग र एउटा मोटरसाइकल पुरिएको छ । घाइते हुनेहरु भने पैदल यात्री हुन् । अविरल वर्षाका कारण वाग्मती, कोञ्ज्योसोम र महाकाल गाउँपालिकाका छोटो तथा लामो दूरीका सडकका विभिन्न खण्डमा पहिरो गएका कारण आवतजावत ठप्प भएको छ । कतै बिजुलीका पोल ढलेका कारण विद्युत आपूर्ति बन्द भएको छ भने गाउँबाट नियमित रुपमा बजार आउनुपर्ने दूध तथा तरकारीलगायत कृषिजन्य वस्तुहरु गाउँमै अड्किएका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १३:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×