कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

प्रहरी हिरासतमा आत्महत्या प्रयास गर्ने युवकको मृत्यु

सुवास विडारी

मकवानपुर — प्रहरी हिरासतमै रहेका बेला शौचालयमा आत्महत्या प्रयास गरेका एक जना युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–६ गडुवानमा भदौ १४ गतेदेखि हराएका एक बालकको हत्यामा संलग्‍न भएको अभियोगमा प्रहरी हिरासतमा रहेका बकैया–६ गडुवानका २९ वर्षीय सुवास वाइबाको उपचारको क्रममा मृत्यु भएको हो ।

उनको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

हराइरहेका भनिएका बालकको शव भदौ १९ गते गडुवान खोला नजिकैको झाडीमा बरामद भएपछि प्रहरीले अनुसन्धानका क्रममा वाइबा र मृतक बालकका फुपूका छोरा २७ वर्षीय मंगलसिंह वाइबालाई भदौ २२ गते पक्राउ गरेको थियो ।

पक्राउपछि अनुसन्धानका क्रममा सुवास वाइबाले हत्या गरेको स्वीकारेको प्रहरीको दाबी छ । भदौ २३ गते हिरासत कक्षभित्रै शौचालयमा आत्महत्या प्रयास गरेका वाइबालाई उपचारका लागि भरतपुर लगिएको थियो ।

उपचारका क्रममा वाइबाको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिं राठौरका अनुसार सुवास वाइबाले हिरासतमा रहेको शौचालयमा आफूले लगाएको हाफ पाइन्टको पासो बनाई आत्महत्या प्रयास गरेका थिए ।

उनका अनुसार शौचालय गएको १० मिनेटसम्म पनि बाहिर नआएपछि प्रहरीले हेर्दा वाइबा पासोमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

वाइबासँगै पक्राउ परेका मंगलसिंह वाइबा भने जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासत कक्षमै रहेका छन् ।

प्रकाशित : आश्विन ८, २०७७ १३:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?