कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सुनकोसी–मरिण डाइभर्सनमा मुआब्जाको काम सुरु

राजकुमार कार्की

सिन्धुली — राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहु–उद्देश्यीय आयोजनाको बाँध निर्माण गरिने सिन्धुलीको सुनकोसी गाउँपालिकामा मुआब्जा वितरणका लागि जग्गाको मूल्य निर्धारण गर्न प्रक्रिया थालिएको छ । बाँधले डुबान हुने क्षेत्र खाल्टे र शीतलपाटीमा मुआब्जा दिइने लागिएको आयोजनाले जनाएको छ ।

सुनकोसी–मरिण डाइभर्सनमा मुआब्जाको काम सुरु

आयोजनाको फिल्ड सम्पर्क कार्यालयका अनुसार बाँधले सुनकोसी गाउँपालिकाको वडा नं. ६ र ७ मा गरी १ सय ७० कित्ता जमिन डुबानमा पर्नेछ । बाँधका लागि १० हेक्टर जमिन अधिग्रहण गर्न मूल्य निर्धारण सुरु भएको सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट विश्वबन्धु केसीले जानकारी दिए । विद्युत् उत्पादनका लागि पावरहाउस निर्माण गर्न यसअघि नै कमलामाई नगरपालिका–२ कुसुमटारमा आठ हेक्टर जग्गाको मुआब्जा दिइसकिएको आयोजनाले जनाएको छ ।

सुनकोसी–मरिण डाइभर्सन आयोजना निर्माण गर्न चालू वर्ष ०७७/०७८ सरकारले २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । सरकारले गत वर्ष उक्त आयोजनाका लागि २ अर्ब ५ करोड बजेट विनियोजन गरेको थियो । यस वर्षका लागि विनियोजित रकम सुरुङमार्ग निर्माण, भौतिक संरचनालगायत काममा खर्च गरिने जनाइएको छ ।

१२ मिटर उचाइको बाँधबाट रामेछाप र सिन्धुलीको ३ सय १२ हेक्टर जमिन डुबानमा पर्नेछ । बाँधबाट निर्माण हुने जलाशयमा माछापालन गर्ने योजनासमेत छ । सुनकोसी गाउँपालिका–६ का वडाध्यक्ष लक्ष्मीप्रसाद तिमल्सिनाले आयोजनामा स्थानीय कामदालाई प्राथमिकता दिनुपर्ने र जलविद्युत्को सेयर लगानीमा स्थानीयलाई पहिलो प्राथमिकता हुनुपर्ने औंल्याए । नदी किनारमा रहेका लिफ्ट सिँचाइ, खानेपानी, दाहसंस्कार, प्रतीक्षालय, मठमन्दिर संरक्षण आदिको उचित व्यवस्थापन हुनुपर्ने पनि उनको भनाइ छ ।

आयोजनाप्रमुख सुशील आचार्यका अनुसार आयोजनामार्फत तराईका बारा, रौतहट, धनुषा, महोत्तरी र सर्लाहीको १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य छ । ‘आयोजना निर्माण गर्न जग्गा प्राप्ति, वातावरणीय पक्ष, प्राविधिक प्रतिवेदन तयारी र अन्य सामाजिक कामहरू भइरहेका छन्,’ उनले भने, ‘अहिलेसम्म स्रोत निश्चित भने भइसकेको छैन ।’

आयोजनाअन्तर्गत सुनकोसी गाउँपालिका–७ को कानढुंग्रीनजिक सुनकोसी नदीमा १२ मिटर उचाइको बाँध निर्माण गरी १३ दशमलब एक किलोमिटर लामो सुरुङमार्फत प्रतिसेकेन्ड ६७ क्युसेक पानी कमलामाई नगरपालिका–२ कुसुमटार स्थित मरिणखोलामा खसालिनेछ । त्यहाँबाट २८ दशमलव ६२ मेगावाट विद्युत्‌समेत उत्पादन गरिनेछ । आयोजनाको कुल लागत ४६ अर्ब रुपैयाँ छ । आयोजना सम्पन्न गर्न ४२ महिनाको समयावधि छ ।

प्रकाशित : आश्विन ८, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?