सिन्धुलीगढी युद्धका हतियार संकलन गरिँदै

राजकुमार कार्की

सिन्धुली — अढाई सय वर्षअगाडि सिन्धुलीगढी युद्धमा अंग्रेज सेनालाई पराजित गर्न गोरखाली फौजले प्रयोग गरेका हतियारको संकलन सुरु भएको छ । ती हतियार कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा निर्माणाधीन युद्ध संग्रहालयमा राखिनेछन् । 

सिन्धुलीगढी युद्धका हतियार संकलन गरिँदै

स्थानीयले पूर्वजको चिनो भन्दै जोगाएर राखेका घरेलु हतियार भेटिन थालेको कमलामाई नगरपालिकाले जनाएको छ । नेपाली सेनाले नागरिक सहयोग अभियानअन्तर्गत उक्त संग्रहालय बनाउँदै छ । विसं १८२४ असोजमा गोरखाली सेना र कप्तान किनलोक नेतृत्वको इस्ट इन्डिया कम्पनीका सेनाबीचको युद्धमा प्रयोग भएका घरेलु हतियार, पुरातात्त्विक तथा ऐतिहासिक सामग्रीको खोजी सुरु गरिएको नगरप्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । अहिलेसम्म उक्त युद्धमा गोर्खाली सेनाले प्रयोग गरेको खुँडा, तरबार र टोपी फेला परेको उनले जानकारी दिए ।

यसै क्रममा योद्धा वंशुधर थापामगरका सन्ततिसमेत रहेका साबिक भद्रकाली गाविसका पूर्वअध्यक्ष हरिबहादुर थापामगरले नगरप्रमुख खत्री र बर्दबहादुर गणका गणपति विजय थापालाई घरमै बोलाएर भाले खुँडा हस्तान्तरण गरेका छन् । तत्कालीन युद्धमा सहभागी भएका स्थानीयका घरघर पुगेर युद्धकालीन सामग्री खोजी गर्न थालिएको नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत सागरकुमार ढकालले बताए । उनका अनुसार रतनचुराको खनियाँखर्कका स्थानीयले पगरी, गैंडे ढाल र पोथी तरबार दिने भएका छन् । सिन्धुलीगढीका अन्वेषणकर्तासमेत रहेका ढकालले तत्कालीन युद्धमा भाले खुँडा प्रयोग नभएको र पोथी खुँडाको प्रयोगबाट नै युद्ध जितिएको दाबी गरे । यस विषयमा विस्तारै खुल्दै जाने उनको भनाइ छ ।

ऐतिहासिक सामग्री उपलब्ध गराउनेलाई उचित सम्मान गरिने नगरपालिकाले जनाएको छ । सेनाको बर्द्धबहादुर गणका अनुसार ४ करोड १७ लाख रुपैयाँ लगानीको संग्रहालय निर्माणको काम ७० प्रतिशत सकिएको छ । सेनाको पूर्व–पश्चिम एकीकरण पदमार्ग विकास गर्ने र उक्त पदमार्गमा परेका गढी तथा किल्लाको संरक्षण गर्ने अभियानअन्तर्गत संग्रहालय बनाउन लागिएको गणले जनाएको छ ।

गणपति विजय थापाले विभिन्न कारणले तोकिएको समयमा निर्माण पूरा गर्न नसकिएकाले छ महिना म्याद थपिएको बताए । ‘६ महिना म्याद थप गरिदिएको छ, यही समयमा पुराना युद्ध सामग्री खोजबिनसमेत गर्नेछौं,’ उनले भने । नगरपालिकाले सिन्धुलीगढीमा घेराबेरा, किल्ला संरक्षण, पानीको स्रोत संकलन, आकर्षक गेट, गढी दरबार निर्माणलगायत काम पनि गरिरहेको छ ।

गणका अनुसार संग्रहालयभित्र वृत्तचित्रमार्फत गढीको ऐतिहासिक र सामरिक महत्त्वका सामग्री प्रदर्शन गर्न सकिने थिएटर, तत्कालीन युद्धमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, पोसाक राखिनेछन् । करिब ६ हजार २ सय ८१ स्क्वायर फिट क्षेत्रफलमा छकोठे एकतले संग्रहालय बन्न लागेको हो ।

सरकारले गत वर्ष घोषणा गरेका नयाँ पर्यटकीय गन्तव्यमध्येको सिन्धुलीगढीको मुख्य दरबार (ठूलो गढी) वाग्मती प्रदेश सरकारले बनाउने भएको छ । प्रदेश सरकारले बहुवर्षे योजनामा समेटेर गढी दरबार बनाउन लागेको हो ।

प्रकाशित : आश्विन ७, २०७७ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?