२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

मकवानपुरको देउरालीमा गुडिरहेको जिप पहिरोले पुरियो

सुवास विडारी

मकवानपुर — भीमफेदी–कुलेखानी सडकखण्डको इन्द्रसरोवर गाउँपालिका–२, देउरालीमा गुडिरहेको स्कार्पियो जिप पुरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको अवस्थामा गुडिरहेको बा १७ च ४८७४ नम्बरको स्कार्पियो बुधबार बिहान १० बजेतिर पुरिएको हो ।

मकवानपुरको देउरालीमा गुडिरहेको जिप पहिरोले पुरियो

गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा जिप पुरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलकुमारसिं राठौरले जानकारी दिए । घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको टोली पुगिसकेको भए पनि अझै उद्धार कार्य सुरु भएको छैन ।

‘स्कार्पियो ठूला ढुङ्गाले च्यापिएको अवस्थामा छ । मेसिन पुग्दैछ । एम्बुलेन्स र प्रहरी पुगिसकेका छन्,’ प्रहरी उपरीक्षक राठौरले भने,‘चालक मात्र देखिन्छन् स्कार्पियोमा कति जना छन् अझै खुलेको छैन ।’

उनका अनुसार उक्त पहिराले एक जना मोटरसाइकल चालक समेत घाइते भएका छन् । बा.९७ प ४८५१ नम्बरको मोटरसाइकल चालक घाइते भएको र उनलाई उपचारका लागि स्थानीयले उद्धार गरेर काठमाडौं पठाएका छन् । मोटरसाइकल चालक पनि काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेका थिए ।

उक्त सडकखण्ड अहिले स्तरोन्नतिको कार्य भइरहेको छ । बुधबार बिहानमात्र उक्त सडक खण्डको दुई स्थानमा पहिरो गएको थियो । पहिरो पन्छाएर बाटो खुलेसँगै दुर्घटना भएको हो ।

प्रकाशित : आश्विन ७, २०७७ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?