२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

हात्ती पस्न थालेपछि धानबालीमा क्षति

रमेशकुमार पौडेल

चितवन — जिल्लाका पिप्ले र माडीको बाँदरझुलामा हात्तीको झुन्ड पसेर धानबाली नोक्सानी गर्न थालेको छ । डेढ महिनायता दिनहुँजसो हात्ती बालीमा पस्ने गरेको स्थानीयको गुनासो छ ।

चितवन निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्ने पिप्लेमा साँझ परेपछि हात्ती आएर धान खाने गरेका छन् । ‘हरियो धान खाने गरेको हात्तीले जंगलनजिकका घर र छाप्रा पनि भत्काउन थालेको छ । एक–डेढ महिनायता रात परेपछि हात्ती आउने गरेको छ,’ लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मनबहादुर स्याङ्बोले भने, ‘कुनै दिन चारवटासम्म हात्ती एकैचोटि आउने गरेका छन् ।’

बाँदरझुलामा पनि हात्तीको झुन्ड नै आउने गरेको छ । ‘यसभन्दा पहिला यति ठूलो झुन्ड आएर धानबाली खाएको देखिएको थिएन । अहिले धान निकै नोक्सान गरेको छ । गाउँ आएर मान्छेलाई केही गर्ने हो कि भन्ने डर पनि छ,’ बाँदरझुलाका डिलबहादुर परियारले भने ।

निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत अशोक राम बाँदरझुला र पिप्लेमा हात्तीका दुई फरक झुन्ड आएको बताउँछन् । ‘बाँदरझुलामा देखिने पोथी हात्तीहरूको समूह हो । पोथी हात्ती सबैभन्दा जेठो हात्तीको नेतृत्वमा घुमफिर गर्दै खाने कुरा र पानीको जोहो गर्छन् । पिप्लेमा ठूलो झुन्ड छैन । ती समूहले लखेटेका भाले हात्तीहरू हुन्जस्तो छ,’ उनले भने । धान पाक्न थाल्दा हात्तीहरू पहिलेदेखि नै गाउँ छिर्दै आएको रामले बताए ।

‘गाउँ आएको हात्तीलाई होसियारीसहित जंगल फर्काउनुपर्छ । यसका लागि निकुञ्जको टोली र सेना परिचालित छ । हात्ती आक्रोशित भए झनै वितण्डा मच्चाउने हुनाले चनाखो भएर काम गर्नुपर्छ,’ उनले भने । चितवन निकुञ्ज वरपर जंगली हात्तीले बर्सेनि दुःख दिने गर्छ । हात्तीले आक्रमण गर्दा मान्छेको ज्यानैसमेत जाने गरेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?