खुला आकाशमुनी बस्‍ने दिन गए : मुख्यमन्त्री पौडेल

राजकुमार कार्की

दुधौली (सिन्धुली) — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कुनै पनि समुदाय अब खुला आकाशमुनी र भोकै बस्नु नपर्ने बताएका छन् । 'अब जनताले घर नपाएर खुला आकाशमुनि बस्ने दिन गए', मुख्यमन्त्री पौडेलले प्रष्टिकरण दिँदै भने, ‘कोही भोको र घरविहीन हुँदैनन्, सरकारको मिसन बनाएर काम गरेको छ ।’

खुला आकाशमुनी बस्‍ने दिन गए : मुख्यमन्त्री पौडेल

‘एकिकृत नमुना मुसहर बस्ती’को शुक्रबार नयाँ भवनहरुको उद्घाटन तथा साँचो हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री पौडेलले संविधानले प्रदत्त गरेको अधिकार आवास सुविधाअन्तर्गतको भवन संविधान दिवसको सन्दर्भ पारेर हस्तान्तरण गरिएको उनले चर्चा गरे । उक्त बस्ती वाग्मती प्रदेश सरकारको जनता आवास कार्यक्रमअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका–११ तल्लो पत्रिङ्गामा मुसहर समुदायका लागि निर्माण गरिएको हो ।

मुख्यमन्त्री पौडेलले सरकारको गौरवका योजनामध्ये बस्ती विकास कार्यक्रम पनि रहेको जनाउँदै एकीकृत मुसहर बस्ती निर्माण अहिलेको संविधानको उपलब्धि भएको बताए । शौचालय र खानेपानी यही आर्थिक वर्षमा प्रदेश सरकारले मुसहर बस्तीका लागि उपलब्ध गराउने मुख्यमन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे ।


वाग्मती प्रदेश सरकारले विभिन्न जिल्लामा विपन्न वर्गका १ हजार ३ सय घर निर्माण गरिरहेको उनले सुनाए । तीमध्ये सिन्धुलीको दुधौली नगरपालिकामा ३५५ मुसहर समुदायका घर निर्माण भएर साँचो हस्तान्तरण गरिएको हो ।

दुधौली नगरपालिकाका मेयर घनश्याम राउतले नगरपालिकाका विपन्न मुसहर समुदायका ७५० घर निर्माण गर्ने लक्ष्य रहेकोमा पहिलो चरणमा ३५५ घर निर्माण सम्पन्न भई सम्बन्धित परिवारलाई साँचो हस्तान्तरण गरिएको बताए । मुसहर समुदायलाई तत्काल आवासको सुविधा दिएको र अब रोजगारी दिन स्थानीय सरकारको प्राथमिकता रहेको उनको भनाइ थियो ।

दुधौलीमा दुई वर्षअघिदेखि मुसहर बस्तीका घर बनाउन सुरु भएको थियो । दुधौली नगरपालिकाका वडा नं. ४, ५, ६, ७, ९, १० र ११ मा मुसहर समुदायको ३५५ घर ११ करोड २२ लाख ७ हजार ६५१ रुपैयाँको लागतमा निर्माण भएको हो । रंगिन जस्तापाताले लहरै बनेका घरले मुसहरको नमुना बस्ती यतिखेर उज्यालिएको छ । भर्खर नयाँ घरमा सरेकी भएकी श्रद्धा मुसहरले हुरी बतास, आगलागी र सर्पको त्रासबाट बल्ल मुक्ति पाएको प्रतिक्रिया जनाइन् ।

कोरोना भाइरस संक्रमणका कारण सीमितलाई मात्र निमन्त्रणा दिएको आयोजकले बताए पनि कार्यक्रमस्थलमा भीड लागेको थियो । भीड लागेपछि कार्यक्रम १ घन्टामै समापन गरिएको थियो ।


प्रकाशित : आश्विन २, २०७७ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?