कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कालिञ्चोकको क्षतिग्रस्त बस्तीमा फेरि पहिरोसँगै बाढी

राजेन्द्र मानन्धर

दोलखा — मानिसहरू घर छाडेर स्कुल र बारीका पाटामा पालको छहारीमा सर्दै थिए । कोही पुरिएका घरलाई डोजरले खोतल्दै गर्दा अत्यावश्यक सामान सद्दे भेटिएलान् कि भनेर कुर्दै थिए । कोही बचेखुचेका सामग्रीहरू निकाल्दै थिए ।

कालिञ्चोकको क्षतिग्रस्त बस्तीमा फेरि पहिरोसँगै बाढी

लगातारको पहिरो र बाढीपछि स्थानीयहरू सुरक्षित स्थानमा सर्दै गरेको यो दुर्गम गाउँ पुग्दा करिब पाँच सय रोपनी जमिनभित्रका घर र खाद्यबालीमा क्षति पुगेको तथ्यांक संकलन गर्दै थिए कालिञ्चोक गाउँपालिका–५ का वडाध्यक्ष सुवास थामी ।


सदरमुकाम चरिकोटबाट दुर्गम उत्तरी भेगका बस्ती आउजाउ गर्न सुनखानी–साङ्बा सडक जोड्ने घट्टे खोलाको बाढीले पुल र सडकमा समेत क्षति पुगेको छ । बाढी बस्तीका पसलहरूमा समेत पसेको छ । बाढी रोक्न डोजर–ट्रिपरबाट काम जारी रहँदा पनि केही घरमा क्षति पुगेको वडाध्यक्ष सुवासले बताए ।


घट्टे खोलाको मुहान भएको लापिङको पहाड खसेर भदौ १९ गते १० घर पुरिएका थिए । सोमबार बिहान ५ बजेको बाढीपहिरोले थप १० घर पुरिएपछि उक्त बस्तीमा संकट अझ थपिएको हो ।


पहिरोले घर पुरिएपछि १० परिवार नजिकको देउराली आधारभूत विद्यालयमा आश्रय लिइरहेका थिए । सोमबार बिहानको बाढीपहिरोले विद्यालय नै खतरामा परेपछि उनीहरू बारीका पाटामा सरेका हुन् ।


कालिञ्चोक गाउँपालिका, नीता राउत फाउन्डेसन र क्रियटिभ ह्यान्डसबाट प्राप्त राहत सामग्री २० घरपरिवारलाई वितरणको व्यवस्था मिलाउँदै गरेका गाउँपालिका अध्यक्ष विनकुमार थामीले भने, ‘पीडितलाई तत्कालै वासको व्यवस्था गर्न र खाद्यान्न उपलब्ध गराउने कार्य गर्दै छौं ।’ पीडितका लागि छिमेकी बस्तीका शेर्पा र तामाङ समुदायले पनि सोमबार २० बन्डल जस्तापाता वितरण गरेका थिए ।


प्रकाशित : भाद्र ३०, २०७७ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?