अभिभावकविहीनलाई सहयोग जुट्दै- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभिभावकविहीनलाई सहयोग जुट्दै

राजेन्द्र मानन्धर

दोलखा — गरिबीका कारण ऋण तिर्न नसकेर बुबाको आत्महत्या र आमाको आकस्मिक मृत्युले चार जना बालबालिकाको बिचल्ली भएको समाचार प्रकाशनपछि उनीहरूलाई सहयोग जुट्न थालेको छ ।

तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर 

ती बालबालिकाको पीडाबारेको समाचार इकान्तिपुरमा आएपछि विभिन्न व्यक्तिहरूले सहयोग रकम पठाउन थालेका हुन् ।

भीमेश्वर नगरपालिका–५ फूलबारीमा बनाएको घरजग्गा लिलामीको ताकेताका कारण एक वर्षअघि बुबा गणेश थामीले आत्महत्या गरेका थिए । अघिल्लो सोमबार आमा अमृती थामीको एक्कासि मृत्यु भयो । बुबाआमा बितेपछि १४ वर्षीया जेठी छोरी सुस्मिता थामीले अढाई वर्षको भाइ, ७ र १२ वर्षका बहिनीको हेरचाह गर्दै आएकी थिइन् ।

उनीहरूलाई चरिकोट घर भएर काठमाडौंमा व्यवसाय गर्ने प्रभुराम श्रेष्ठले एक लाख तीन हजार पाँच सय रपैयाँ सहयोग गरेका छन् । उक्त रकम मेघा बैंकमा धितो राखेको घरको ऋण तिर्न भनेर उनले पठाएका हुन् । शैलुङ गाउँपालिका घर भएर काठमाडौंमै रहेका सोभित उप्रेतीले २५ हजार सहयोग गरेका छन् । उनले आमाको किरिया गर्न र तत्कालको समस्या टार्न सहयोग गरेको बताए । आमाको मृत्युपछि घरमा खानासमेत नभएकाले दुई दिनसम्म चारै जना भोकै बसेको सुस्मिताले बताएकी थिइन् ।

तनहुँको भानु नगरपालिका घर भएर काठमाडौं सुकेधारा बस्ने विष्णु भण्डारीले २० हजार सहयोग गरेका छन् । दोलखा घर भएका काठमाडौं बस्ने रामहरि श्रेष्ठले १० हजार पठाएका छन् । त्यसैगरी माथिल्लो तामाकोसी आयोजनामा कार्यरत इन्जिनियर विमल गुरुङले पाँच हजार सहयोग गरेका छन् । ती बालबालिकाको गाउँबाट पनि सहयोग जुटेको छ भने विदेशबाट पनि विभिन्न व्यक्तिले सहयोग पठाइरहेका छन् ।

सहयोग पाउन थालेपछि वृद्ध हजुरबुबालाई अभिभावक बनाएर चारै जनाको नाममा ग्लोबल आईएमई बैंक चरिकोटमा खोलिएको खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । सहयोग उठेको रकमबाट प्रमाण भएका ऋण तिरेर घरजग्गा लिलाम हुनबाट जोगाउने आफन्त पदम थामीले बताए । चारै बालबालिकालाई एसओएस बालग्रामले पालनपोषणका साथै पढाउने जिम्मा लिने सहमति पनि भएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्

बुबाआमा नै गुमेपछि भोकभोकै

राजेन्द्र मानन्धर

दोलखा — दुई दिनदेखि घरको चुल्हो नबलेपछि चार जना लालाबाला भोकभोकै भएका छन् । खानेकुरा ल्याउने बुबा र पकाइतुल्याइ गरेर खुवाउने आमा दुवैको फरकफरक कारणले मृत्यु भएपछि उनीहरु खाना र स्याहरबाट बञ्चित भएका छन् ।

तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर 

एक्कासि बेथा लागेपछि सोमबार छिमेकीले बोकेर अस्पताल पुर्‍याइएकी ३८ वर्षीया अमृती थामी सधंैका लागि नफर्कने गरी गइन् । एक वर्षअघि नै अमृतीका श्रीमान गणेशले आत्महत्या गरेका थिए । दुवै जनाको मृत्युपछि अभिभावकत्व गुमाएका काखे बालक वीरबहादुर, ७ वर्षीया सुनिता, १२ वर्षीया सुजता र १४ वर्षीया सुस्मिता टुहुरा बने ।

अब अमृतीको शवलाई जेठी छोरी १४ वर्षीया सुस्मिताले सदगद गर्नुपर्छ । परिवारका अन्य सदस्य नभएकाले मंगलबारसम्म चरिकोटस्थित सामुदायिक अस्पतालबाट उनकी आमाको शव उठेको छैन । अस्पतालका अध्यक्ष अमृत बुढाथोकीले छट्पटाउँदै आएकी अमृतीको केहीबेरमै मृत्यु भएको बताए । चारदिनदेखि पेटको समस्या रहेको उनको सबै ल्याब परीक्षणको नतिजा खराब देखिएको छ ।

भीमेश्वर नगरपालिका— ५ स्थितफुलबारीको एकान्तको घरमा बसिरहेकी सुस्मिाताले भनिन्, ‘के गरुँ, कसो गरुँ एक्लै छु ।’ सुस्मिताले बहिनी र भाइहरुलाई सम्हाल्दै थिइन् । आमा–बुबा दुवै नभएपछि भाइबहिनी र आफू के खाने, के गर्ने भन्ने थाहा नभएको उनले बताइन् ।

गणेश र अमृती एक दशकअघि विकट कालिञ्चोकबाट सदरमुकाम आएका थिए । उक्त दम्पत्तिले ज्यामी काम गरेको पैसा र केही ऋणले सदरमुकाम चरिकोटबाट केही तलको फुलबारी गाउँमा आधा रोपनी जमिन जोडेका थिए । भूकम्पबाटप्राप्त अनुदान र थप ऋणले एकतले घर पनि बनाएका थिए ।

आखिर जग्गा किन्न र घर बनाउन गरेको ऋण नै यो परिवारको बिल्लीबाठको दिन सुरु भएको देखिन्छ । सुस्मिताका अनुसार त्यति सम्पत्ति जोड्दा ८ लाखजति ऋण छ । बैंक र आफन्तहरुबाट लिएको ऋण तिर्न नसकेपछि उत्पन्न तनावले गणेशले २०७६ असार २ गते झुण्डिएर आत्महत्या गरेको सुस्मिताले बताइन् । यो परिवारको आफन्त पर्ने पदम थामीका अनुसार साहुहरु घरमा बारम्बार आइरहन थालेपछि केही महिना परिवार नै घारबाट टाढा गएर बसेका थिए ।

गणेशको मृत्युपछि अमृतीले चरिकोट बसपार्कस्थित एउटा होटलमा सफाइ सम्बन्धी काम सुरु गरिन् । बैंक र अन्यत्रसँग लिएको ऋणको ब्याजबापत मासिक नौ हजार पारिश्रमिक पाउने सर्तमा उनले काम थालेकी थिइन् । आठ कक्षामा पढ्दै गरेकी सुस्मिता पनि बेलाबेलामा आमालाई सघाउन होटलको सफाइ सम्बन्धी काममा जान्थिन् ।

कहिले भुटेको मकै, कहिले फर्सीको झोलमा पीठो मिसाएर चार जना बालबच्चालाई पालपोषण गर्दै आएकी अमृती रोगले ग्रसित थिइन् । अमृती पोषण र भरपेट खानाको अभावले पेट दुख्ने समस्या भएको सुस्मिताले बताइन् । ‘पेट दुख्दा पनि होटलमा काम गर्न जानुपरेको बेला आमा बेलाबेलामा लामो समसयसम्म रुनुहुन्थ्यो । आमा बिरामी परेका बेला म होटलमा गएर आमाको साटो काम गर्थेें,’ सुस्मिताले भनिन् ।

भान्छा कोठामा ग्यासको सिलिन्डर छ । रित्तो सिलिन्डर ग्यास भर्ने पैसा नभएपछि त्यो पनि बलेको छैन । अव्यस्थित अगेनामा ओदान छ, आधा बलेर निभेका दाउराका ठुटाहरु छन् । दुई दिनदेखि नमाझिएका जुठा भाडाहरु छन् । प्लास्टिकका बाल्टिनमा छोडाइएका मकैका दाना छन् । दलिनमा केही झुत्ता मकै झुन्डिएको छ । अर्को कोठामा थोत्रा र झुत्रा ओढ्ने ओछ्याउने छ ।

बसाइँ सरेर आएकाले उनीहरुको घर छेउछाउका नातेदार छैनन् । दु:ख सास्ती बुझ्नेले दयापूर्वक केहीदिनबाहेक छिमेकीले संस्कार र दु:खमा दायित्व बोध गर्न जरुरी ठान्दैनन् । छिमेकीकाअ नुसार श्रीमानले आत्महत्या गरेपछि अमृती निकै दिन डराएकी थिइन् । शोकमा निकै दिन भोकभोकै चार–चार जना नाबालकहरु च्यापरे फिरन्तेझैं घरबाहिर बसेकी थिइन् ।

त्यसैबेलादेखि पीडा, अभाव र रोगको सिकार अमृतीको देहान्तपछिदुधे वालकलाई तत्काल स्याहारसहितको आश्रय जरुरी छ । आश्रय केन्द्र सञ्चालन गरिरहेको आवाज नेपालकी प्रमुख सिर्जना कार्कीले दुधे बालकलाई तत्काल ग्रहण गर्न सकिने बताइन् ।

‘अन्य तीन जनालाई बाँकी दिनहरुमा तत्काल आश्रय जरुरी छ । एक जना छिमेकीले भने, ‘उनीहरुको थाप्लोमा आएको ऋणको व्यवस्थापन पनि जरुरी छ । ताकि धितो राखिएको घरजग्गा लिलाम हुनबाट जोगियोस् ।’

प्रकाशित : भाद्र १८, २०७७ १७:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×