१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अभिभावकविहीनलाई सहयोग जुट्दै

राजेन्द्र मानन्धर

दोलखा — गरिबीका कारण ऋण तिर्न नसकेर बुबाको आत्महत्या र आमाको आकस्मिक मृत्युले चार जना बालबालिकाको बिचल्ली भएको समाचार प्रकाशनपछि उनीहरूलाई सहयोग जुट्न थालेको छ ।

अभिभावकविहीनलाई सहयोग जुट्दै

ती बालबालिकाको पीडाबारेको समाचार इकान्तिपुरमा आएपछि विभिन्न व्यक्तिहरूले सहयोग रकम पठाउन थालेका हुन् ।

भीमेश्वर नगरपालिका–५ फूलबारीमा बनाएको घरजग्गा लिलामीको ताकेताका कारण एक वर्षअघि बुबा गणेश थामीले आत्महत्या गरेका थिए । अघिल्लो सोमबार आमा अमृती थामीको एक्कासि मृत्यु भयो । बुबाआमा बितेपछि १४ वर्षीया जेठी छोरी सुस्मिता थामीले अढाई वर्षको भाइ, ७ र १२ वर्षका बहिनीको हेरचाह गर्दै आएकी थिइन् ।

उनीहरूलाई चरिकोट घर भएर काठमाडौंमा व्यवसाय गर्ने प्रभुराम श्रेष्ठले एक लाख तीन हजार पाँच सय रपैयाँ सहयोग गरेका छन् । उक्त रकम मेघा बैंकमा धितो राखेको घरको ऋण तिर्न भनेर उनले पठाएका हुन् । शैलुङ गाउँपालिका घर भएर काठमाडौंमै रहेका सोभित उप्रेतीले २५ हजार सहयोग गरेका छन् । उनले आमाको किरिया गर्न र तत्कालको समस्या टार्न सहयोग गरेको बताए । आमाको मृत्युपछि घरमा खानासमेत नभएकाले दुई दिनसम्म चारै जना भोकै बसेको सुस्मिताले बताएकी थिइन् ।

तनहुँको भानु नगरपालिका घर भएर काठमाडौं सुकेधारा बस्ने विष्णु भण्डारीले २० हजार सहयोग गरेका छन् । दोलखा घर भएका काठमाडौं बस्ने रामहरि श्रेष्ठले १० हजार पठाएका छन् । त्यसैगरी माथिल्लो तामाकोसी आयोजनामा कार्यरत इन्जिनियर विमल गुरुङले पाँच हजार सहयोग गरेका छन् । ती बालबालिकाको गाउँबाट पनि सहयोग जुटेको छ भने विदेशबाट पनि विभिन्न व्यक्तिले सहयोग पठाइरहेका छन् ।

सहयोग पाउन थालेपछि वृद्ध हजुरबुबालाई अभिभावक बनाएर चारै जनाको नाममा ग्लोबल आईएमई बैंक चरिकोटमा खोलिएको खातामा रकम जम्मा गर्ने व्यवस्था मिलाएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष विनकुमार थामीले बताए । सहयोग उठेको रकमबाट प्रमाण भएका ऋण तिरेर घरजग्गा लिलाम हुनबाट जोगाउने आफन्त पदम थामीले बताए । चारै बालबालिकालाई एसओएस बालग्रामले पालनपोषणका साथै पढाउने जिम्मा लिने सहमति पनि भएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?