१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

पहिरो गएपछि डेढ सय जना घर छाडेर ओढारमा

कृष्ण थापा

नुवाकोट — दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको सिसिपुमा पहिरो गएपछि स्थानीय थातथलो छाडेर ओढार र नजिकका सुरक्षित स्थानतिर लागेका छन् । मंगलबार आएको पहिरोले दुई घरमा क्षति पुगेको थियो । बस्तीमाथि छोम्बरडाँडाबाट पहिरो आएको हो ।

पहिरो गएपछि डेढ सय जना घर छाडेर ओढारमा

मानवीय क्षति नभए पनि जोखिम उच्च भएको भन्दै सिसिपु र स्योलोलोका गरी १ सय १३ घरधुरीले गाउँ छाडेका हुन् । चार परिवार कसेरीमा गएर बसेका छन् । करिब १ सय ५० जना बोल्चोकको ओढारमा बसिरहेका छन् । स्योलोलोमा पनि पहिरोले दुईवटा गाई पुरिदिएको छ ।

गाउँपालिका अध्यक्ष योविन्द्रसिं तामाङका अनुसार स्थानीयलाई घ्याङडाँडा र बोल्जुमा सारिँदै छ । गाउँपालिकाले बुधबार स्थानीयलाई सातवटा टेन्ट र २० वटा त्रिपाल दिएको छ । ‘पानी पर्न रोकिएको छैन,’ अध्यक्ष तामाङले भने, ‘पहिरो झरिरहेकै छ ।’ सिसिपु मात्र नभई बुधबार तालु र कसेरीमा पनि पहिरो गएको छ । उक्त क्षेत्रमा फोन सम्पर्क हुन समेत मुस्किल पर्छ । पहिरोग्रस्त क्षेत्र सदरमुकाम विदुरबाट करिब ५० किमि पूर्वी भेगमा पर्छ । उक्त वडाका निगाले, बोल्जु, काउले, सेजुङ र नेगी जोखिमयुक्त बस्ती हुन् ।

प्रकाशित : भाद्र २४, २०७७ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?