चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण भएर उपचारमा रहेका व्यक्तिहरुका लागि चितवनमा पनि प्लाज्मा थेरापी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटीको भरतपुरमा रहेको क्षेत्रीय रक्तसञ्चार केन्द्र (ब्लड बैंक)ले बिहीबार नै प्लाज्मा संकलन सुरु गरेको थियो ।

चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार सुरु

ब्लडबैंकमा संकलन भएको प्लाज्मा संक्रमितको उपचारमा प्रयोग भइसकेको छ । चितवन मेडिकल कलेजको शिक्षण अस्पतालका दुई जना संक्रमितले प्लाज्मा पाएका छन् ।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) तय गरेको मापदण्डअनुसार प्लाज्मा थेरापी विधिबाट अनुसन्धनात्मक उपचार सुरु गरिएको हो ।

चितवन मेडिकल कलेजले निकालेको सूचनामा संक्रमण पुष्टि भएकी मकवानपुर हेटौंडा–११ की ५२ वर्षीया महिलालाई प्लाज्मा थेरापी दिन सुरु गरेको उल्लेख छ । चितवनमै पहिलो पटक ती महिलाबाट प्लाज्मा थेरापी सुरु भए पनि अस्पतालले अन्य एक व्यक्तिलाई पनि यो सेवा दिएको अस्पतालका सञ्चालक डा.हरिस न्यौपानेले बताएका छन् । यी दुईपछि थप एकजना व्यक्तिलाई पनि सेवा दिने तयारी भइरहेको उनले बताए ।

ब्लड बैंकका प्रमुख रमेशकान्त पौडेलले बिहीबार ‘बी’ पोजिटिभ र ‘ओ’ पोजिटिभ रक्त समूहका तीन जनाले प्लाज्माका लागि रक्तदान गरेको जानकारी दिए । कोरोना संक्रमण भएर निको भएका व्यक्तिले प्लाज्माका लागि रक्तदान गर्न सक्ने उनले बताए । प्लाज्माका लागि रक्तदान गर्नेहरुले संक्रमणपछि नेगेटिभ नतिजा आएको १४ दिन कुर्नु पर्ने हुन्छ । संक्रमणपछि परीक्षण नै गरेर नेगेटिभ प्रमाणित भएकाहरुबाट मात्रै रगत लिने उनको भनाइ छ ।

‘आउन त हिजो अरु पनि आउनु भएको थियो । तर संक्रमणपछि परीक्षण गरेर नेगेटिभ रिजल्ट आएको नभइ आइसोलेसन अवधि पार गरेपछि घर गएर बस्नु भएका व्यक्तिहरु हुनुहुँदो रहेछ । उहाँहरुको लिइएन,’ ब्लडबैंक प्रमुख पौडेलले भने । संक्रमण भएर निको भएका व्यक्तिहरुको रगतमा हुने एन्टिबडी निको हुन बाँकी रहेका संक्रमितलाई दिनु फाइदाजनक भएको डा.हरिश न्यौपानेले बताए ।

चितवनमा संक्रमितको संख्या नौ सय नाघेको छ भने निको हने १५६ जना मात्रै छन् । भरतपुर अस्पतालले पनि प्लाज्मा थेरापीको सेवा सुरु गर्न तयारी पूरा गरेको अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीले बताए ।

प्रकाशित : भाद्र १९, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?