चितवनमा एकैदिन थपिए ७३ संक्रमित

रमेशकुमार पौडेल

चितवन — चितवनमा शनिबार एकै पटक ७३ जनामा कोरोना संक्रमण देखिएको छ ।

चितवनमा एकैदिन थपिए ७३ संक्रमित

चितवन मेडिकल कलेजको प्रयोगशालामा भएको १९६ नमुना परीक्षणमध्ये ६५ वटामा कोभिड-१९ पोजिटिभ देखिएको छ । तीमध्ये भरतपुर महानगरका २२, रत्ननगर नगरपालिकाका ३८ र राप्ती नगरपालिकाका १ गरेर चितवनका कुल ६१ जनामा संक्रमण भएको छ । बाँकी चारजनामा नवलपुर, तनहुँ, रुपन्देही र पाल्पाका एक एकजना रहेको चितवन मेडिकल कलेजले निकालेको सूचनामा उल्लेख छ ।

भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालामा नमुनाको चाप बढेपछि परीक्षणका लागि काठमाडौं पठाएकोमध्ये धुलिखेलको परीक्षण प्रयोगशालामा शनिबार परीक्षण भएका ३९ वटा नमुनामध्ये चितवन खैरहनी नगरपालिकाका १२ वटा नमुनामा संक्रमण पत्ता लागेको छ ।

यसरी शनिबार मात्रै चितवनमा कूल ७३ जनामा संक्रमण भएको हो । योसँगै चितवनमा संक्रमितको संख्या ६ सय पुगेको छ । भरतपुरको कोभिड–१९ परीक्षण प्रयोगशालामा हुने नुमनाको नतिजा रातमा मात्रै आउने गर्दछ । त्यसैले संख्या अझै थपिने सम्भावना छ ।

चितवनमा साउन २१ गतेयता कोरोना भाइरसको संक्रमण तीव्र भएको हो । त्यो बेलासम्म संक्रमितको संख्या ११६ मात्रै थियो । केही दिनयता मृतकको संख्या पनि बढ्न थालेको छ ।

भरतपुरमा उपचार गराइरहेका चितवनसहित अन्य जिल्लाकासमेत गरेर संक्रमण देखिएका मध्ये शनिबारसम्म १० जनाको मृत्यु भएको छ । ती मध्ये चारजना चितवनकै हुन् । संक्रमण बढेका कारण चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा लागेको छ ।

प्रकाशित : भाद्र १३, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?