१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

उपहार परेको भन्दै सामाजिक सञ्जालबाट ठगी

ठगिएका दुई महिलाले दिएको उजुरीका आधारमा चितवन प्रहरीले तीन जनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
रमेशकुमार पौडेल

चितवन — उपहार परेको भन्दै विभिन्न व्यक्तिलाई सामाजिक सञ्जालबाट ठगी गर्ने तीन जनालाई चितवन प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय खैरहनीले साउन २० गते एक शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि उनीहरूको ठगी धन्दा बाहिर आएको हो ।

उपहार परेको भन्दै सामाजिक सञ्जालबाट ठगी

राप्ती नगरपालिका–८ खुरखुरेको एउटा मनी ट्रान्सफरबाट प्रेमबहादुर राना नामका व्यक्तिले शंकास्पद तबरले पटक–पटक ठूलो परिमाणमा रकम निकालेको गोप्य सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार समातिएका व्यक्तिविरुद्ध भरतपुर महानगरपालिका–२० शारदानगर बस्ने आरती राना र मोरङको लेटाङ–९ की विष्णुकुमारी राईका भतिजा नाता पर्ने भरतपुर–११ का केशव पाल्पाली कुमालले जाहेरी दिएका छन् । यी दुई जनाबाट मात्रै उपहार पठाउने बहानामा उक्त गिरोहले ५ लाख २८ हजार ८८५ रुपैयाँ ठगी गरेको डीएसपी थापाले बताए ।

यसरी गर्थे ठगी

प्रहरीका अनुसार यी दुई महिलालाई सामाजिक सञ्जाल ह्वाट्सअप र फेसबुकबाट सम्पर्क गरेर उपहार पठाउने भन्दै पैसा मगाएको खुलेको छ । खुरखुरेमा पक्राउ परेका व्यक्तिबाट राजकुमार थापामगर नामको नागरिकताको प्रतिलिपि, सक्कलै सवारी लाइसेन्स र राजकुमारको फोटो रहेको तर प्रेमबहादुर रानाको नामको नक्कली लाइसेन्सको प्रतिलिपि भेटियो । पक्राउ परेका व्यक्ति प्रेम नभएर राजकुमार थापामगर रहेछन् ।

उनले आरतीलाई ह्वाट्सअपबाट सम्पर्क गरेका थिए । उपहार परेको भनी त्यसबापत विभिन्न प्रक्रिया पूरा गर्न २ लाख ५३ हजार २ सय ४० रुपैयाँ जम्मा गर्न लगाएका थिए । त्यसै गरी विष्णुकुमारीलाई फेसबुकबाट सम्पर्क गरी २ लाख ७५ हजार ६ सय ४५ रुपैयाँ जम्मा गर्न लगाएको खुलेको छ ।

रानाले आफ्नो र सञ्जना पाठकका नाममा मनी ट्रान्सफरमार्फत पैसा जम्मा गर्न लगाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । रानालाई दिल्ली बसेर उनका भाइ सोमराजले सघाउने गर्थे । ‘विदेशीको फोटो राखेर सामाजिक सञ्जालमा नक्कली खाता खोल्ने, विशेष गरी महिलाहरूलाई साथी बनाउने र इटली, अमेरिका, अस्ट्रेलिया, सिंगापुर र फ्रान्सजस्ता देशबाट बोलेको भनी कुराकानी गर्ने र घनिष्ठ हुने गरेको पाइयो,’ डीएसपी थापाले भने ।

त्यसपछि आइफोन, ब्रान्डेड ब्यागहरू, ब्रासलेट र गहना उपहार परेको भन्दै विभिन्न व्यक्तिको नाम र ठेगानामा सामान कुरियर गरेको बिल र फोटो नै पठाएर विश्वास दिलाउने गरेको भेटिएको छ । उनीहरू कुरियरको शुल्क र करबापत भन्दै पाँच सयदेखि आठ सय डलरसम्म माग्ने र मनी ट्रान्सफरमा रकम हाल्न लगाउँथे । त्यसपछि भारतसम्म सामान आएको र अनेक खालका शुल्क लागेको भन्दै नक्कली कुरियर कम्पनीको नाममा इमेल पठाएर फेरि पैसा मग्ने गरेको डीएसपी थापाले बताए ।

उनीहरूले उजुरी परेका दुई महिलाबाहेक अन्यबाट ६ लाख ५७ हजार ९७५ रुपैयाँ ठगेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ पर्नेमा तनहुँ, भिमादका ४० वर्षीय राजकुमारसहित चितवन, खैरहनी–१२ सिसहनीका शिवराज पाठक र धादिङ घर भई हेटौंडा–४ बस्ने सत्कार लुइँटेल छन् ।

प्रहरीले यो गिरोहका अन्य ६ जना फरार रहेको बताएको छ । फरार हुनेमा राजकुमारका भाइ सोमराज, धादिङ घर भई काठमाडौं महानगर–१५ चागल बस्ने राजकुमार तामाङ, स्याङ्जा घर भई पाल्पा, रामपुर बस्ने निशाकुसुम भट्टराई, नवलपरासी देवचुली–१२ का लोकप्रसाद भुर्तेल, अर्घाखाँचीका तेजबहादुर केसी र मञ्जु केसी छन् । मनी ट्रान्सफरमा आएको पैसा झिकेर यी व्यक्तिहरूको बैंक खातामा राख्ने गरिएको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : भाद्र १२, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?