आइसोलेसन वार्डमा बेडको अभाव हुँदा घरमै बस्ने संक्रमित बढे

सुवास विडारी

मकवानपुर — आइसोलेसन वार्डमा बेडको अभाव हुँदा मकवानपुरमा घरमै आइसोलेट भएर बस्ने कोरोना संक्रमतिको संख्या दैनिक बढेको छ ।

आइसोलेसन वार्डमा बेडको अभाव हुँदा घरमै बस्ने संक्रमित बढे

हेटौंडा–६ गौरीटारस्थित रंगशालामा तयार गरिएको आइसोलेसनको क्षमताभन्दा बढी कोरोना संक्रमित भएपछि घरमै बस्ने संक्रमितको संख्या बढेको हो । गौरीटारमा १२० बेड क्षमताको आइसोलेसन रहेको छ । हाल उक्त स्थानमा ९९ जना उपचाररत् छन् ।

हेटौंडाका आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंका अनुसार मकवानपुरमा बिहीबारसम्ममा ४०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये १०३ जना होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा दैनिकरुपमा संक्रमितहरु संख्या बढिरहेको भएपनि आइसोलेसन वार्डमा बेडको अभावहुँदा संक्रमितहरुलाई घरमै राख्न आफूहरु बाध्य भएका उनले बताए ।

‘थप एकसय बेडको आइसोलेसन निर्माणहुँदै छ । त्यसपछि केही सहज हुन्छ ।’, उनले भने,‘दैनिक आइसोलेसनमा थपिनेको संख्या बढिरहेको छ । डिस्चार्ज हुनेभन्दा थपिने बढ्दा हामी समस्यामा परेका हौं । व्यवस्थापन गर्न समेत गाह्रो भइरहेको छ ।’, उनले थपे ।

‘मकवानपुरमा संक्रमितहरुको अवस्था डरलाग्दो अवस्थामा पुग्दैछ,’ उनले भने,‘दैनिक संक्रमित बढ्दो छ । समयमा नै परीक्षण हुन सकेको छैन । स्वाब संकलन भएकाहरुको नतिजा १ दिनमा नै दिन सकेको भए व्यवस्थापनमा ध्यान दिन सकिन्थ्यो त्यसो हुन सकेन । मानिसहरुमा मानसिक तनाव महसुस हुन थालेको छ ।’ साउनको तेस्रो हप्तादेखि स्वाब संकलन बढेको र परीक्षणमा ढिलाइ भइरहेको चौलागाईंले बताए ।

सरकारले होम आइसोलेसनमा बस्नेहरुका लागि तयार गरिएको मापदण्ड आफूहरुले पूरा गर्न नसकेको बताए । ‘घरमा आइसोलेसनमा बस्नेहरुलाई स्वास्थ्यकर्मीहरुले नियमित रुपमा परीक्षण गरिनुपर्छ । तर, त्यस्तो हुन सकेको छैन । गौरीटारबाट पनि फलोअप हुन सकेको छैन,’ उनले संक्रमित स्वयम् सचेत हुन समेत आग्रह गरे ।

प्रकाशित : भाद्र ११, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?