शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ठगी आरोप, अदालतले प्रहरीलाई दियो पक्राउ पुर्जी

टीकाप्रसाद भट्ट

रामेछाप — शरीर बन्धक अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि प्रहरीले ठगी मुद्दामा समेत अनुसन्धान अघि बढाएको छ ।

शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ठगी आरोप, अदालतले प्रहरीलाई दियो पक्राउ पुर्जी

खड्काविरुद्ध परेको ठगी मुद्दामा अनुसन्धान गर्न पक्राउका लागि प्रहरीले रामेछाप जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ । यद्यपि खड्का प्रहरी हिरासतमै छन् । दुवै मुद्दाको अनुसन्धान एकसाथ अघि बढाउने तयारीका लागि प्रहरीले अदालतमार्फत पक्राउका लागि अनुमति लिएको प्रहरी नायव उपरीक्षक वसन्त पाठकले बताए ।

स्थानीय शेरबहादुर खड्काले गाउँपालिका अध्यक्षले ठगी गरेकोले कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । २ करोड मूल्य दिन्छु भन्दै आफ्नो २१ रोपनी जग्गा गाउँपालिकाको लागि मागेको तर उक्त जग्गा पालिकालाई नभई आफ्नी साली नाता पर्नेको नाममा झुक्याएर पास गरेको र तोकिएको मूल्य नदिएको आरोप लगाइएको छ । उक्त जग्गा धोबी बजार नजिकैको हो । गाउँपालिकाको नाममा हालसम्म कुनै जग्गा नभएकोले स्थायी संरचना बनेको छैन । भाडाको साँघुरो घरमा गाउँपालिकाको कार्यालय संचालनमा छ ।

प्रहरीले ठगीको जाहेरीसमेत खड्का हिरासतमै रहेका बेला परेकाले दुवै मुद्दामा एकै साथ अनुसन्धान गर्ने भएको हो । यसअघि धोबीको एउटा उपभोक्ता समितिका अध्यक्षलाई गाउँपालिकामा बन्धक बनाई जबरजस्ती चेकमा हस्ताक्षर गर्न लगाएको अभियोगमा खड्काविरुद्ध अनुसन्धान जारी छ ।

खड्कालाई ९ दिन अघि प्रहरीले पक्राउ गरेको थियो । उक्त मुद्दाको अनुसन्धानका लागि १७ दिन हिरासतमा राख्न रामेछाप जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

प्रकाशित : भाद्र ७, २०७७ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?