१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

लागूऔषध सेवनकर्ताद्वारा प्रहरीमाथि खुकुरी प्रहार

सुवास विडारी

हेटौंडा — हेटौंडा–६, गौरीटारमा लागूऔषध सेवनकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार घाइते भएका छन् ।

प्रहरी चौकी चौघडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीको लागूऔषध प्रहयोगकर्ताहरु पक्राउ गर्ने क्रममा उनीहरुले प्रहार गरेको खुकुरी लागेर दायाँ हातमा गम्भीर चोट लागेको स्थानीय प्रत्यक्षदर्शी केदार चौलागाईंले जानकारी दिए । उनका अनुसार प्रहरी हवल्दार विकेश राय पनि घाइते भएका छन् । करिब दश बजेको समयमा स्थानीय युवाहरु लागूऔषध सेवन गरिरहेको समयमा प्रहरीले उनीहरुलाई पक्राउ गर्न खोज्दा युवाहरुले प्रहरीलाई खुकुरी प्रहार गरेका थिए ।

प्रहरीले लागूऔषध सेवन गरेर प्रहरीसँग झगडा गरेर खुकुरी प्रहार गर्ने तीन जनालाई पक्राउ गरेको । पक्राउ पर्नेाहरुमा हेटौंडा–६, २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सवा गौतम, ५० वर्षीय नकुल विक रहेका छन् । राउतले प्रहरीमाथि खुकुरी प्रहार गरेका थिए । घाइते भएका प्रहरी सहायक निरीक्षक र हवल्दारको हेटौंडामा सामान्य उपचारपश्चात् थप उपचारका लागि चितवन रेफर गरिएको छ । झगडा भएको स्थान हेटौंडाबाट करिब सात किलोमिटर पूर्वस्थित हेटौंडा–६ र १६ नम्बरको गौरीटार रंगशाला नजिकै हो ।

‘दैनिक त्यसक्षेत्रमा युवाहरु रातको समयमा लागूऔषध सेवन गरेर ढुंगा हान्दै होहल्ला गरेको खबर आएपछि हाम्रो प्रहरी टोली त्यहाँ पुगेको हो । हाम्रो टोलीले उनीहरुलाई देखेपछि रोक्न खोज्दा खुकुरी प्रहार भयो,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?