काभ्रेमा संक्रमित प्रहरीका परिवारमा पनि कोरोना

नगेन्द्र अधिकारी

काभ्रे — संघीय प्रहरी इकाई वाग्मतीमा कार्यरत प्रहरीका परिवारमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीका ७ वर्षीय छोरा र श्रीमतीको पीसीआर नतिजा पोजिटिभ आएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य अधिकृत डा. नरेन्द्रकुमार झाले बताए । साउन २७ मा संक्रमण पुष्टि भएका ती प्रहरी स्वाब दिएपछि परिवारको सम्पर्कमा आएका थिए । 

काभ्रेमा संक्रमित प्रहरीका परिवारमा पनि कोरोना

पर्याप्त सावधानी नअपनाउँदा संघीय प्रहरी वाग्मतीमा कार्यरत १९ प्रहरीमा यसअघि संक्रमण पुष्टि भइसकेको छ । लक्षण देखिएका, स्वाब दिएर समुदाय र परिवारको सम्पर्कमा गएको, सामूहिक मेस चलाएको, आवतजावत भइरहेपछि प्रहरीमा संक्रमित बढेका हुन् ।

संक्रमितलाई घरमा नै राखिने

आइसोलेसन बेड अभाव भएपछि शुक्रबार संक्रमण पुष्टि भएका ८ जनालाई घरमा नै राखिएको छ । जिल्लाका दुई अस्पतालमा रहेका आइसोलेसन वार्डका बेड भरिएपछि घरमा नै राख्नुपर्ने बाध्यता रहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । ‘बेड अभाव भएपछि घरमा नै राख्न बाध्य भयौं,’ डा. झाले भने, ‘यही दरमा संक्रमण बढे घरमा नै राख्नुको विकल्प छैन ।’ बेड अभावकै कारण बिहीबार संक्रमण पुष्टि भएका ६ प्रहरी कर्मचारीलाई प्रहरी अस्पताल पठाइएको थियो ।

जिल्लाको धुलिखेल अस्पतालमा १५ र शिर मेमोरियल अस्पतालमा ५ वटा आइसोलेसन बेड भए पनि क्षमताभन्दा बढी बिरामी राखेर उपचार भइरहेको छ । १५ बेड क्षमताको धुलिखेल अस्पतालमा २८ जना र शिर मेमोरियल अस्पतालमा ७ जना संक्रमित राखेर उपचार भइरहेको जिल्ला कमान्ड पोष्टका सदस्य सचिव रहेका स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डा. झाले जानकारी दिए । उनका अनुसार, पाँचखालमा ७ बेड र पनौतीमा ६ बेडको आइसोलेसन कक्ष तयार गरेको छ । नमोबुद्ध नगरपालिकामा पनि १५ बेडको आइसोलेसन कक्ष तयार भइरहेको नगरपालिकाले जनाएको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेसम्म ६ वटा नगरपालिकामा कम्तीमा १०/१० बेडको आइसोलेसन बेड तयार गर्न अनुरोध गरेको थियो ।

धुलिखेल अस्पताललाई थप ५० बेड र शिर मेमोरियल अस्पताललाई २० बेड क्षमताको आइसोलेसन कक्ष बनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए ।


प्रकाशित : श्रावण ३०, २०७७ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?