२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

कर्मचारीलाई संक्रमण भएपछि मन्थली नगरपालिका सिल

टीकाप्रसाद भट्ट

रामेछाप — नगरपालिकाका एक कर्मचारीलाई कोरोना संक्रमणको पुष्टि भएपछि रामेछापको मन्थली नगरपालिकालाई जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभए सम्मका लागि सिल गरेको छ ।

बिहीबार नगरपालिकाका १ सहित रामेछापका ३ जनालाई कोरोना संक्रमणको पुष्टि भएको थियो ।

सिल गरेसँगै नगरपालिकाबाट सेवा लिने सबैलाई कोरोना परीक्षणका लागि स्वास्थ्यकर्मीसँग सम्पर्क गर्न भनिएको छ । कोरोना संक्रमण भएका नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीको प्रत्यक्ष सम्पर्कमा पुगेका सबैको खोजी भइरहेको समेत प्रशासनको सूचनामा उल्लेख छ ।

यसैबीच प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बैठकले जिल्लामा कोरोनाको संक्रमण बढ्न नदिनका लागि शुक्रबारदेखि बजार बन्द गर्ने, सबै प्रकारका यातायातका साधन बन्द गर्ने, राति पैदल यात्रा गर्न निषेध गर्ने लगायतका निर्णय गरेको थियो । बैठकले अत्यावश्यक सामग्री खरिद भन्दा बाहेक अन्य समयमा घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७७ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?