पृथ्वी र त्रिभुवन राजपथमा निषेधाज्ञा

हरिहरसिंह राठौर

धादिङ — कोरोना संक्रमण बढेसँगै धादिङबाट काठमाडौं उपत्यका भित्रिने नाकामा कडाइ गरिएको छ । धादिङ प्रशासनले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा निधेषाज्ञा जारी गरेको छ ।

पृथ्वी र त्रिभुवन राजपथमा निषेधाज्ञा

लकडाउन खुकुलो भएपछि सार्वजनिक यातायातले दैनिकजसो उपत्यका जाने यात्रु बोक्नुका साथै अन्य जिल्लाबाट पनि सवारी पास लिएर धमाधम आउन थालेपछि मुख्य राजमार्गमा आउजाउ रोकिएको निमित्त प्रजिअ रुद्र मल्लले बताए ।

जिल्ला सुरक्षा समिति धादिङले मालवाहक र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाएको हो । साउन २९ गते बिहान ६ बजेबाट काठमाडौं सिमाना पिप्लामोडदेखि चितवनको सिमाना मौवा खोलासम्म निषेधाज्ञा जारी गरिएको छ ।

अत्यावश्यकीय मालवाहक गाडी र एम्बुलेन्सबाहेक अन्य सवारी सञ्चालन चल्न नदिने निर्णय भएको निमित्त प्रजिअ मल्लले बताए ।

लकडाउन खुकुलो भएसँगै पृथ्वी राजमार्गका होटल रेस्टुरेन्ट सञ्चालनमा आउन थालेका थिए । निषेधाज्ञापछि प्रहरीले बिहीबारदेखि राजमार्गका सबै होटल–पसल बन्द गराएको छ । ‘चैतको शुरुआती चरणको लकडाउनभन्दा झनै कडा गरिएको छ र धेरै सवारीसाधनलाई बिहान आएकैतर्फ फर्काइएको छ,’ गजुरीस्थित इलाका प्रहरीका प्रहरी नायव उपरीक्षक विश्वराज खड्काले भने ।

धादिङ सदरमुकाम प्रवेशमा पनि कडाइ गर्दै मलेखु पुल, बुंगचुंग र पुछार बजारमा प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित : श्रावण २९, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?