सोमबार मध्यरातबाट हेटौंडा र मनहरीमा निषेधाज्ञा- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोमबार मध्यरातबाट हेटौंडा र मनहरीमा निषेधाज्ञा

सुवास विडारी

मकवानपुर — कोरोना भाइरसको संक्रमण समुदायमा फैलिएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले सोमबार मध्यरातबाट हेटौंडा उपमहानगर र मनहरी गाउँपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले हेटौंडा उपमहानगरपालिका र पूर्व–पश्चिमसँग जोडिएको मनहरी गाउँपालिकाको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । यी क्षेत्रमा निषेधाज्ञा गर्न आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । ३२ साउन राति १२ बजेसम्म निषेधाज्ञा गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

मकवानपुरमा आइतबार एकैदिन २३ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । जसमध्ये हेटौंडामा मात्रै १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । एकैदिन धेरै संक्रमित फेला परेपछि स्थानीय प्रशासन निषेधाज्ञा गर्ने निर्णयमा पुगेको हो । ‘निषेधाज्ञामा औषधि उपचार र खाद्य वस्तु खरिद बाहेक कुनै व्यक्ति घर बाहिर निस्किन पाइँदैन’, प्रमुख जिल्ला अधिकारी नेपालका अनुसार एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोकेका ट्यांकर, शववाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले प्रयोग गर्ने सवारीसाधन र जिल्ला प्रशासनबाट जारी भएका सवारी मात्रै सञ्चालनमा गर्न पाइनेछ ।

खाद्यान्न पसल बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न पाइने उनले बताए । स्वास्थ्य संस्था र अत्यावश्यक सेवाका कार्यालय बाहेक सबै सरकारी तथा निजी कार्यालयहरु, गैरसरकारी, बैंक, वित्तिय संस्था खोल्न नपाइने उनले बताए ।

प्रकाशित : श्रावण २६, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकाका स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द

सार्वजनिक यातायात भदौ १५ सम्म बन्द गर्न सरकारलाई आग्रह
उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुहरूमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध
कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरूले अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठन 'नगरपालिका मेयर फोरम'को सोमबार बसेको बैठकले स्थानीय तहका अत्यावश्यक बाहेकका सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र समुदायस्तरमा संक्रमणको उच्च जोखिम देखिएकोले भिडभाड कम गर्न स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय लिएको बताए ।

बैठकले सार्वजनिक यातायात पूर्ण रूपमा सञ्चालन भएपछि संक्रमण तीव्र गतिमा फैलिएको भन्दै सार्वजनिक यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । कलकारखाना, उद्योग, निर्वाध रूपमा सञ्चालन भइ मजदुरहरूको दैनिक आवतजावत बढेकाले संक्रमणको जोखिम पनि बढेको हुनाले उद्योग तथा कलकारखाना भित्र क्वारेन्टाइनको व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पुरा गरेपछि मात्रै सञ्चालन गर्न दिने निर्णय उनीहरूले गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता प्रायोजनको लागि नवीकरण गर्ने म्याद साउन मसान्तसम्म रहेकोमा असोज मसान्तसम्म कायम गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूको बैठकले गरेको छ । काठमाडौं उपत्यकामा अत्यन्त घनाबस्ती रहेकाले कोरोना संक्रमण समुदाय स्तरमा पुग्ने खतरा रहेको भन्दै उपत्यका प्रवेश गर्ने प्रस्थान विन्दुहरूमा अत्यन्त कडाई गर्न सरकारलाई अनुरोध गर्ने निर्णयसमेत फोरमले गरेको छ ।

यस्तै, क्वारेन्टाइन व्यवस्थापन र सञ्चालन नियमावलीअनुसार रहने गरी एकीकृत क्वारेन्टाइन संघीय सरकारले सञ्चालन गर्ने र स्थानीय तहले व्यवस्थापनमा सहयोग गर्ने गरी तयारी गर्न सरकारलाई अनुरोध गर्ने निर्णय पनि मेयरहरूले गरेका छन् ।

यस्ता छन् निर्णयहरु :



संक्रमण फैलनसक्ने अवस्थालाई ध्यान दिएर सरकारको समर्थन वा विरोधमा र्‍याली, भेला, अनसन, जुलुसलगायतका गतिविधि गर्न कडाईका साथ निषेध गर्ने र भिड हुने साँस्कृतिक गतिविधि जात्रा, पर्व सञ्चालनमा रोक लगाउन सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

यस्तै, मास्क नलगाई आवतजावत गर्न तथा मास्कलाई उपयुक्त रूपमा प्रयोग नगर्नेहरूलाई कारबाही गर्ने विषयमा समन्वय गर्ने निर्णय पनि फोरमले गरेको छ ।

व्यापारिक क्षेत्र तथा सपिङ मल, होटल, रेष्टुरेन्ट कोभिड- १९ संक्रमणको उच्च जोखिमयुक्त क्षेत्र रहेकोले उच्च सतर्कता मापदण्डलाई कडाईका साथ पालना गर्नुपर्ने र सोको नियमित अनुगमन गरी कारबाही गर्ने निर्णयसमेत भएको छ । पीसीआर परीक्षणको आर्थिक भार बढी हुने र यसको उपयोगिता परीक्षण गरिएको सिमित अवधिलाई मात्र रहने भएकाले परीक्षणको दायरा र दरलाई बढाउनेमात्रै भन्दा पनि संक्रमण रोकथामको लागि क्वारेन्टाइनको संख्या र गुणस्तरमा ध्यान दिने निर्णय पनि बैठकले गरेको छ ।

अनाधिकृत रूपमा उपत्यका प्रवेश गरेका निर्माण क्षेत्रका मजदुर, ठेलागाडा, साइकल, फुटपाथ, तरकारी व्यापार गर्न आएकामा बढी देखिएको भन्दै तरकारी व्यापारलाई साँझ बिहान मात्र सञ्चालन गर्न दिने र निर्माण कार्य, फुटपाथ, ठेलागाडा, साइकल मार्फत गरिने व्यापारलाई भदौं १५ गते सम्मको लागि निषेध गर्ने निर्णय पनि बैठकले गरेको छ ।

*यसअघि स्थानीय तहमा अत्यावश्यकबाहेकका सेवा १५ दिनका लागि बन्द हुनुपर्नेमा अन्यथा भएकोले सच्च्याइएको छ ।

प्रकाशित : श्रावण २६, २०७७ १७:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×