कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सडक मर्मत नगरेको भन्दै जलविद्युत आयोजनाका गाडीलाई पालिकाद्वारा प्रतिबन्ध

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको लिखु तामाकोशी गाउँपालिकाले लिखु ३  र ४ जलविद्युत आयोजनाका सवारी साधनलाई आवत जावतमा प्रतिबन्ध लगाएको छ ।

तिल्पुङ धोबी हुँदै लिखु नदीसम्मको सडक प्रयोग गर्दै आएका जलविद्युत आयोजनाले पालिकाले विगतमा मर्मत सम्भार गर्दै आएको सडकमा ४२ चक्के सम्मका भारवाहन सवारी साधन गुडाएर सडक बिगारेको तर मर्मत कार्यमा चासो नदिएको भन्दै सवारी आवागमनमा प्रतिबन्द लगाएको हो ।

गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले आइतबार लिखु ३ को आयोजनाको प्रवर्द्धक कम्पनी स्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन र लिखु ४ आयोजनाको प्रवर्द्धक कम्पनी ग्रिनभेन्चर कम्पनीलाई पत्राचार गरी अव उप्रान्त आयोजनाका कुनै पनि सवारी साधनलाई तिल्पुङ धोवि सिरीसे सडकमा गुड्न निषेध गरिएको जनाउ दिएका हुन् । पालिकाले आयोजनाको गाडि रोक्न धोवि बजारमा ढांट राखेको उल्लेख गरेको छ ।

सडक बिग्रेपछि यसअघि पटक पटक आयोजनालाई मर्मत गरिदिन गरिएको आग्रहलाई अटेर गरेको, ठूला भारवाहन सवारी साधन निकाल्नका लागि मेसिनको प्रयोग गरी दाँयाबाँयाको जग्गा काटेर स्वरुप बिगारेकाले बाध्य भएर पालिकाले साविककै अवस्थामा सडक सञ्चालन गर्न आयोजनाका सवारी साधन रोक्नु परेको पत्रमा उल्लेख छ ।

हलेदेदेखि तिल्पुङ हुँदै धोविसम्मको २० किलोमिटर सडक खण्ड जर्जर छ । पालिकाले सर्वसाधारण नागरिक बिरामी पर्दा निःशुल्क बोक्न २ वटा एम्बुलेन्स खरिद गरेको तर उक्त एम्बुलेन्स सञ्चालनका लागि सडक सहज छैन । पालिकाले मोटरसाइकल समेतको आवातजावतमा कठीनाइ भएकाले पालिकाको शान्ति सुरक्षा र स्वास्थ्य सेवामा प्रतिकूल असर परेकाले बाध्य भएर जलविद्युत आयोजनाका सवारी साधनलाई रोक्नु परेको जनाएको छ ।

गाउँपालिकाले सडकमा ढुवानी र अन्य यातायातका साधनलाई प्रतिबन्द लगाएको विषयमा जलविद्युत आयोजनाले कुनै प्रतिक्रिया जनाएका छैनन् । स्थानीय स्तरमा रहेका आयोजना सम्बद्ध अधिकारीहरु यसअघि पनि सूचना दिन इन्कार गर्दै आएका छन् ।

यसअघि रामेछापकै उमाकुण्ड गाउँपालिकाले कालचौतारा र ठोसे सिंगटीको सडकमा लिखु १ का सवारी साधनलाई निषेध गरेको थियो । पालिकाले उक्त सडकलाई बाह्रै महिना सञ्चालन गरी राख्‍न ठुला सवारी साधन गुड्न नदिने नीति अख्तियार गरेको हो ।

लिखु ३ र ४ दुवै आयोजनाको प्रवेश मार्ग तिल्पुङ धोवि सडक हो । ५२.४ मेघावाट क्षमताको लिखु ४ जलविद्युत आयोजना सिमावर्ती ओखलढुंगा जिल्लाको लिम्तीमा निर्माणाधीन छ भने २८.१ मेघावाट क्षमताको लिखु ३ आयोजना सोहि गाउँपालिका भित्र निर्माणाधिन छ । दुवै आयोजना अन्तिम चरणको काममा जुटेका छन् ।

प्रकाशित : श्रावण २६, २०७७ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?