मकवानपुरमा साउन ३२ सम्म आउजाउ रोक- वाग्मती - कान्तिपुर समाचार

मकवानपुरमा साउन ३२ सम्म आउजाउ रोक

सुवास विडारी

मकवानपुर — कोरोना संक्रमितको संख्या बढेसँगै स्थानीय प्रशासनले मकवानपुरमा आउजाउमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुमा शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले साउन ३२ गतेसम्म मकवानपुरबाट अन्य जिल्ला र अन्य जिल्लाबाट मकवानपुरमा हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

कोभिड १९ को संक्रमणको जोखिम दिनानुदिन बढिरहेको र संक्रमण समुदायस्तरमा नै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापनकf लागि भन्दै एक जिल्लाबाट अर्को जिल्लामा आउजाउ बन्द गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए । उनका अनुसार मकवानपुर जिल्लाभित्र सञ्चालनमा रहेका उद्योग, कलकारखाना, व्यवसाय आदिमा अन्य जिल्लाबाट श्रमिक तथा कामदार ल्याउन पनि साउन ३२ गतेसम्म रोक लगाइएको छ ।

सरकारी र निजी कार्यालय एवम् संघसंस्थामा कार्यरत कर्मचारीहरुको दैनिक रुपमा यस जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लाबाट यस जिल्लामा हुने आवागमनमा समेत साउन मसान्तसम्म रोक लगाउने निर्णय उक्त बैठकले गरेको छ ।

‘हेटौंडा बजारमा मानिसहरुको भिडभाड बढिरहेको छ । बजार क्षेत्रमा स्वास्थ्य तथा सुरक्षाका न्युनतम मापदण्डहरु पूरा भए/नभएको सम्बन्धमा प्रभावकारी अनुगमन गर्ने र न्युनतम मापदण्डहरु पालना नगर्नेलाई तत्काल कारबाही गर्नेमा हामी पुगेका छौं’, प्रमुख जिल्ला अधिकारी नेपालले भने ।

समुदायस्तरमा कोरोना संक्रमणको सम्भावना उच्च देखिएको भन्दै स्वास्थ्यकर्मी परिचालन गरी सामान्य स्वास्थ्य जाँचलाई बढाउन स्थानीय तहहरुलाई अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्

बिर्तामोडमा ‘मास स्क्रिनिङ’

अर्जुन राजवंशी

बिर्तामोड — झापाको बिर्तामोड नगरपालिकाले नगर क्षेत्रमा ‘लकडाउन’ लागू गरी ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका व्यक्तिहरुको पीसीआर परीक्षण गर्न थालेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ ।

कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्नेगरी स्वाब लिने काम जारी राखेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति बिर्तामोडका संयोजक ओम खड्काले जानकारी दिए ।

बिर्तामोडमा बस्दै आएका एक सशस्त्र प्रहरीका प्रहरी निरीक्षक, एक प्रहरी र दुई जना बैंकका कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण पुष्टि भएलगत्तै उनीहरुको कन्ट्याक ट्रेसिङ गरी पीसीआर परीक्षणको दायरा बढाएको खड्काले बताए । दुई साताअघि बाह्रदशी गाउँपालिकाका एक औषधि व्यवसायी र एक नेकपाका स्थानीय नेतामा पनि संक्रमण पुष्टि भएको थियो । उनीहरु संक्रमित रहेकै समयमा बिर्तामोड आएको तथा औषधि व्यवसायीहरु उनीहरुको सम्पर्कमा पुगेकाले मास स्क्रिनिङ गर्नुपरेको खड्काको भनाइ छ ।

समुदायमा संक्रमणको जोखिम कम गर्न नगरपालिकाले साउन १९ देखि नगर क्षेत्रमा अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या ३९३ पुगेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १८:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×