कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

बाढीले दोलखामा एकको मृत्यु, २० घरमा क्षति

राजेन्द्र मानन्धर

दोलखा — गौरीशंकर गाउँपालिकामा बिहीबार राति अविरल वर्षासँगै आएको बाढीले एक जनाको मृत्यु हुनुका साथै २० वटाभन्दा बढी घरमा क्षति पुगेको छ । बाढीले सडक बगाउँदा यातायात अवरुद्ध भएको छ ।

बाढीले घर भत्काउँदा ३१ वर्षीय सुरेश शिवाकोटीले ज्यान गुमाएको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । उनका अनुसार कालिन्चोक गाउँपालिकाका शिवाकोटी ग्रिलसम्बन्धी काम गर्न उक्त क्षेत्रमा पुगेका थिए ।

बाढी–पहिरोले बस्तीसँगै जलविद्युत् आयोजनाहरूमा समेत क्षति पुर्‍याएको गाउँपालिका अध्यक्ष स्वयमबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सुरीखोला र खारेखोलाको बाढी बस्तीमा पसेको हो । गौरीशंकर–६ वडुमा ६, बोछुमा २ र वडा नं. ८ का १२ घरमा क्षति पुगेको छ ।

तामाकोसी नदीको सतहले खतराको संकेत छोएपछि बिहीबार राति साढे १० बजे जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत जानकारी गराउँदै स्थानीयलाई सचेत रहन आग्रह गरेको थियो । उक्त सूचनापछि सिप्रिङ खोला किनारका बासिन्दा घर छाडेर स्थानीय गौरीशंकर माविमा बसेका थिए । अन्यत्र पनि खोला किनारका बासिन्दा सुरक्षित स्थानमा गएको स्थानीयले जनाए ।

गौरीशंकर गाउँपालिका प्रवेश गर्ने तामाकोसी–भोर्ले पुल पनि जोखिममा परेको अध्यक्ष खड्काले बताए । पालिकाको करिब ७० मिटर मुख्य सडक बाढीले बगाएपछि सुरी, खारे, चंखु र मार्बु जाने यातायात अवरुद्ध भएकाले उद्धारमा कठिनाइ परेको पनि उनले जानकारी दिए ।

तीन जलविद्युत् आयोजनामा क्षति

बाढीले तीनवटा जलविद्युत् आयोजनामा पनि क्षति पुर्‍याएको छ । ६ दशमलव ४ मेगावाटको सुरीखोला हाइड्रोपावर लिमिटेडको हेडवर्क्स, पाइपलाइन, प्रवेशमार्गमा क्षति पुगेको लिमिटेडका अध्यक्ष हिमाल गुरुङले बताए । उनका अनुसार आयोजना निर्माणको अन्तिम चरणमा थियो । ११ दशमलव ६ मेगावाटको युनिभर्सल र ५ मेगावाटको घट्टेखोलामा पनि क्षति पुगेको छ ।

प्रकाशित : श्रावण २३, २०७७ १०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?