वाग्मती प्रदेशमा हालसम्मकै धेरै संक्रमित फेला

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशमा हालसम्मकै धेरै कोरोना संक्रमित भेटिएका छन् । प्रदेशका विभिन्‍न अस्पताल र प्रयोगशालामा गरिएको स्वाबको पीसीआर परीक्षणमा हालसम्मकै सबैभन्दा बढी कोरोना पोजिटिभ भेटिएका हुन् । 

वाग्मती प्रदेशमा हालसम्मकै धेरै संक्रमित फेला

प्रदेशको १३ जिल्लामध्ये ९ वटा जिल्लामा एकैदिन ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टाभित्र प्रदेशमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित फेला परेको हेटौंडास्थित सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बिहीबार काठमाडौंमा सबैभन्दा बढी ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ललितपुरमा १०, काभ्रेमा ३, मकवानपुरमा २ तथा भक्तपुर, चितवन, नुवाकोट, रामेछाप र दोलखामा १–१ जनालाई कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तम राज सेढाईंले जानकारी दिए । ‘यसअघि एकैदिनमा ६८ जनासम्मलाई २४ घण्टाभित्र संक्रमण पुष्टि भएको थियो । अहिले त्यो संख्या २० ले बढेको छ,’ प्रवक्ता सेढाईंले भने ।

वाग्मती प्रदेशमा प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या १४ सय ३३ पुगेको छ । १४ साउनमा मात्रै प्रदेशमा संक्रमितको संख्या १ हजार नाघेको थियो । ७ दिनभित्र ४ सय २१ जना नयाँ संक्रमित प्रदेशमा थपिएको डा. सेढाईंले जानकारी दिए । यो अवधिमा काठमाडौंमा मात्रै ३ सय २४ जना नयाँ संक्रमित फेला परेका छन् ।

प्रदेशभर सबैभन्दा धेरै काठमाडौंमा ६ सय ७५, धादिङको १ सय ४३, चितवनको १ सय २७, भक्तपुरको ७७, सिन्धुपाल्चोकको ७४, मकवानपुरमा ५४, नुवाकोटमा ४५, रामेछापमा ३९, काभ्रेमा २६, सिन्धुलीमा २५, दोलखमा १३ र रसुवामा १२ जनालाई संक्रमण पुष्टि भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशमा १० जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाइसकेका छन् । मन्त्रालयका अनुसार प्रदेशमा ५ सय ९१ जनाले कोरोनालाई जितिसकेका छन् भने ८ सय ३२ जनाको उपचार भइरहेको छ । प्रदेशमा हालसम्म ३७ हजार ५ सय ४२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता सेढाईंले जानकारी दिए ।

प्रकाशित : श्रावण २२, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?