रामेछापका दुई पालिकाले विद्यालयबाट हटाए क्‍वारेन्टाइन

टीकाप्रसाद भट्ट

रामेछाप — भदौ १ गतेदेखि विद्यालय संचालन गर्ने तयारीका लागि रामेछापका २ गाउॅपालिकाले विद्यालयबाट क्वारेन्टाइन हटाएका छन् । खाँडादेवी र दोरम्बा गाउॅपालिकाका विभिन्न विद्यालयहरुलाई खाली गराइएको छ । खाँडादेवीले केही समय अगावै विद्यालयबाट क्‍वारेन्टाइन हटाएको थियो ।

रामेछापका दुई पालिकाले विद्यालयबाट हटाए क्‍वारेन्टाइन

दोरम्बाले हालै विद्यालयबाट क्वारेन्टाइन बेड हटाएको छ । दोरम्बा गाउॅपालिकाका अध्यक्ष कमानसिं मोक्तानका अनुसार अहिले क्वारेन्टाइन राखेका विद्यालयहरुलाई निर्मलीकरण गर्ने काम भइरहेको छ ।

विद्यालयबाट क्वारेन्टाइन हटाएपछि उक्त गाउॅपालिकाहरुले वैकल्पिक व्यवस्थाका लागि बेग्लाबेग्लै तयारी गरेका छन् । खाँडादेवी गाउॅपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार विद्यालयको साटो बेग्लै क्वारेन्टाइन बनाइसकिएको छैन । ‘भूकम्पपछि पुनर्निर्माण गरिएका निजी आवासहरु खाली रहेको स्थानमा तिनैलाई क्‍वारेन्टाइन बनाउने गरी तयारी गरिरहेका छौं’, तामाङले भने । उनका अनुसार स्वास्थ्य चौकी नजिकैका निजी आवासहरुमा क्वारेन्टाइन राख्ने गरी सामग्री तयारी अवस्थामा राखिएका छन् । पालिकाले बेड लगाएका सामग्री भण्डार गरी राखेको तामाङले बताए । उनका अनुसार जहाँ आवश्यक हुन्छ, त्यस्तो स्थानमा क्वारेन्टाइन कक्ष राख्ने तयारी पालिकाको छ ।

दोरम्बामा भने फरक निर्णय भएको छ । विद्यार्थी संख्या न्यून भएर विगतमा मर्जरमा गएको खाली विद्यालय भवन अबको क्वारेन्टाइन कक्ष हुनेछ । दोरम्बामा त्यस्तो भवनलाई धमाधम सुधार गरेर क्वारेन्टाइनको रुपमा विकास गर्न लागिएको अध्यक्ष मोक्तानले बताए । मोक्तानका अनुसार अव पालिकाका अन्य क्षेत्रमा क्वारेन्टाइन राखिँदैन । ‘कोही नयाँ व्यक्ति आयो भने दोरम्बामा १४ दिन राखेर घर पठाउने विचारमा छौं ’ उनले भने । पालिकाले दोरम्बा स्वास्थ्य चौकीमा आइसोलेसन राखेको छ ।

प्रकाशित : श्रावण २१, २०७७ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?