१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लिच्छविकालीन भैरवी मन्दिरमा सुनको जलप

कृष्ण थापा

नुवाकोट — विदुर नगरपालिका-२ स्थित पुरानो सदरमुकाम डाँडामा रहेको लिच्छविकालीन भैरवी मन्दिरमा सुनको जलप लगाइएको छ । गजुरसहितको माथिल्लो तलाको छानामा सुनको जलप लगाइएको हो ।
२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि ०७३ सालबाट पुरातत्व विभागले पुनः निर्माण थालेको हो । जिल्लाको ठूलो शक्ति पीठ तथा पुरातात्विक महत्वको रुपमा रहेको भैरवी मन्दिर दुई तले छ । 

लिच्छविकालीन भैरवी मन्दिरमा सुनको जलप

मन्दिर वरिपरि टुँढाल, काष्ठकलाका मूर्तिहरु राखिसकिएको छ । लकडाउनको कारण जलप लगाउने कार्य ढिलो भएको निर्माण पक्षले जनाएको छ । कामदार र काठको अभावका कारण निर्धारित समयमा मन्दिर पुनर्निर्माण नभएपछि पटकपटक म्याद थप्दै मन्दिरको काम अगाडि बढाइएको थियो । ४ करोड ६३ लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण भइरहेको छ । प्यागोडा शैली र पुरानो डिजाइनमा मन्दिर निर्माण गरिएको पुरातत्व विभागले जनाएको छ । मन्दिरको माथिल्लो छानो सुनको र तल्लो छाना झिंगटीको राखिने निर्माण पक्षका ध्रुव श्रेष्ठले जानकारी दिए ।

सदरमुकाम विदुरबाट ६ किलोमिटर उत्तरपूर्वी पुरानो सदरमुकामस्थित नुवाकोट डाँडामा उक्त मन्दिर छ । १८४९ साल असोजमा नेपाल, चीन र तिब्बत युद्ध भएपछि तत्कालीन शासकले भैरवीको पूजाआराधना गरी नेपाल जोगाइदिन देवीसँग शक्ति मागेको र युद्ध जितेपछि सुनको छाना चढाउँला भनेको किवदन्ती छ । देवीको आराधाना पछि नुवाकोटकै माथिल्लो डाँडामा रहेको कालिका, मालिका मन्दिर र भैरवी थानबाट निस्केको अरिंगालले शत्रुपक्षलाई चिलेपछि हार खाएका थिए ।

युद्ध जितेपछि तत्कालीन शासकले भैरवीको माथिल्लो छाना गजुरसहित सुनको राखिएको किवदन्ती छ । अहिले पनि पूर्वराजा, प्रशासक लगायत उच्चपदस्थ व्यक्तिहरु भैरवीको पूजाआराधना गर्न नुवाकोट आउने गर्छन् ।

त्यसैगरी नुवाकोट विजयी गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई १८०१ मा नुवाकोटकी भैरवीसंग शक्ति मागेको र भैरवीले सपनामा मेरो आराधना गरेमा कान्तिपुर अधिनस्थ नुवाकोट जितेको जनविश्वास रहिआएको छ ।

राज्य सञ्चालकहरु ठूला पदमा पुगेपछि एक पटक भैरवीको पूजा र आशीर्वाद लिन आउने गरेका छन् । यो मन्दिरका कहिले निर्माण भएको भन्‍ने एकिन तथ्यांक नभए पनि यहाँका टुँडाल र काष्ठकलाले लिच्छवीकालीन भएको स्थानीयको दाबी छ । यो मन्दिर १४ औं शताब्दीमा जगज्योति मल्लले पुनर्निर्माण गराएको इतिहासमा उल्लेख छ ।

प्रकाशित : श्रावण १३, २०७७ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?