समयमै उपचार नपाउँदा काभ्रेमा किशोरीको मृत्यु

नगेन्द्र अधिकारी

काभ्रे — ‘उपयुक्त उपचार’ नपाउँदा जिल्लाको विकट खानीखोला गाउँपालिकामा एक किशोरीले ज्यान गुमाएकी छन् । ३ दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, झाडापखाला लागेकी १६ वर्षीया रञ्जिता थोकरलाई स्वासप्रश्वासको समस्या पनि देखिएपछि घरमा नै उपचारको क्रममा मृत्यु भएको हो । 

वर्षाको कारण स्थानीय स्वास्थ्य चौकीमा समेत पुर्‍याउने अवस्था नभएपछि घरमा नै उपचारको क्रममा उनको मृत्यु भएको साल्धारा स्वास्थ्यचौकी इन्‍चार्ज अहेव श्रीरामकुमार रामले जानकारी दिए ।

‘टाउको दुखेको र ज्वरो आएको गुनासोसहित मृतकको आमा आइतबार स्वास्थ्यचौकी आउनुभएको थियो, औषधी दिएर पठाएको थिए,’ उपचारमा संलग्न रामले भने, ‘सोमबारबाट झाडापखाला पनि सुरु भएर मंगलबार बिहानदेखि अचेत भएको खबर आएपछि घरमा नै गएर उपचार गरें, स्वासप्रश्वासको समस्या पनि रहेछ, अक्सिजन लगायौं, बत्ती गएर अक्सिजन नचलेपछि २ मिनेटमा नै उहाँको मृत्यु भयो ।’ परिवारका सदस्यले गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यलयमार्फत हेलिकप्टर मगाए पनि बिरामीको मृत्यु भएपछि रित्तै फर्किएको छ ।

उपचारमा संलग्न अहेव रामले मृत्युको कारणबारे यकिन गर्न नसकिने बताए । स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले मृतकको 'ट्राभल हिस्ट्री' नभएको कारण कोरोना संक्रमणको आशंका नभएको बताए ।

गाउँपालिकाका प्रवक्ता समेत रहेका सो वडाका अध्यक्ष मानबहादुर गोलले वर्षाका कारण यातायातका साधन ठप्प भएका कारण समस्या भएको बताए । ‘वर्षाको कारण यातायातका साधन चलेको छैन, गाउँपालिका केन्द्र जोड्ने सबै बाटो अवरुद्ध छन्,’ गोलेले भने, ‘बिरामी भएको जानकारी परिवारबाट ढिला भयो, समन्वय गरेर हेलिकप्टर पनि ल्यायौं तर उनलाई बचाउन सकिएन ।’

प्रकाशित : श्रावण १३, २०७७ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?