कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्द्रावतीको माझीबेतीमा सात वर्षपछि रोपाइँ

सात वर्षअघि बाढीले बगर बनेको खेतलाई फेरि उर्वर बनाउँदै ३ सय ७० परिवार सामूहिक रोपाइँमा जुटेका छन्
अनिश तिवारी

सिन्धुपाल्चोक — रोपाहार महिला धानको बीउ छुपुछुपु पार्दै ‘असारे भाका’ हाल्न व्यस्त देखिन्थे । कोदाली, फ्याउला बोकेर बाउसे गरिरहेका पुरुषहरू पनि गीतमा मस्त थिए । छेउछाउतिर खेतमा हाते ट्याक्टर र पानी मिलाइरहेकाहरू रैथाने भाकामा सुर हाल्दै थिए । 

इन्द्रावतीको माझीबेतीमा सात वर्षपछि रोपाइँ

इन्द्रावती गाउँपालिका–११ को बोडेगाउँस्थित माझीबेतीमा पछिल्ला वर्ष यो दृश्य दुर्लभ भएको थियो । इन्द्रावतीले उर्वर खेत बढारेर बगर बनाइदिएको थियो । स्थानीयले मेहनत गरेर फेरि बगरलाई खेतमा बदलेका छन् । त्यसैले सात वर्षपछि खेतीमा रमाएका माझी समुदायले प्रकृतिलाई धन्यवाद दिए । अनि गीतमै भने, ‘बल्ल भयो सपना पूरा, बागदेवीले सुनिन् माझीका दुःख ।’

बेती खेतभर झन्डै ३ सय ७० परिवार सामूहिक रूपमा यसरी नै धान रोपाइँमा कस्सिरहेका भेटिए । ‘वर्षौंपछि हाम्रो सपना फर्किएको छ, बगर बनेको खेतलाई योग्य बनाएर एक भएर धान रोप्न पाएका छौं, हर्षको सीमा छैन,’ अभियन्तासमेत रहेका रामजी माझीले भने ।

२०७० सालको बाढीले यहाँको दुई हजार रोपनी खेत बनाएको थियो । प्रदेश र स्थानीय सरकारको सहयोगमा ७ वर्षपछि सामूहिक रूपमा सय रोपनी खेतमा रोपाइँ थालिएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए ।

प्रदेश कृषि मन्त्रालयका सल्लाहकार लालकुमार केसी, मेलम्ची नगरकी उपमेयर भगवती नेपाल, जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटा पनि रोपाइँमा सहभागी भए । रोपाइँ गर्न सामूहिक खेती प्रवर्द्धन समिति बनाइएको छ । कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य परीक्षण गरी सामाजिक दूरी कायम राखेर रोपाइँ थालिएको समितिले जनाएको छ ।

प्रकाशित : श्रावण १२, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?