कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

पहिरोले बीपी राजमार्ग अवरुद्ध

रोशी र चदाहाले धान खेत कटान
राजकुमार कार्की

सिन्धुली — अविरल वर्षाका कारण ठाउँ–ठाउँमा आएको पहिरोले बीपी राजमार्ग पनि मंगलबार दिउँसोदेखि अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बीपी राजमार्गको खुर्कोट–नेपालथोक खण्डको कमेरेफाँटमा माथिबाट पहिरो झरेकाले सडक अवरुद्ध बनेको छ । 

पहिरोले बीपी राजमार्ग अवरुद्ध


अवरुद्ध सडक खुलाउन दुई वटा एस्काभेटरले पहिरो पन्छाउने काम भइरहेको छ । दुम्जा र खुर्कोट नजिकै माथिबाट लेदो माटो खसेर पटकपटक सडक अवरुद्ध भएको छ । पानी परिरहेकाले खहरेमा आएको बाढीले बीपी राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन् । महाभारत क्षेत्रको खनियाखर्क नजिक पनि लेदो माटो झरेर सडक अवरुद्ध बनेको छ ।

त्यस्तै मध्यपहाडी लोकमार्गको पाँच/सात ठाउँमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर क्षेत्रीले जानकारी दिए । दुवै राजमार्ग अवरुद्ध हुँदा राजधानी काठमाडौं जाने र फर्कने सयौं सवारी साधन बीच सडकमा अलपत्र परेको स्थानीयले बताएका छन् । मध्येपहाडी लोकमार्गकै फिक्कल गाउँपालिकामा सोखुखोला, बादुरेखोला र खाङ्गसाङ्ग खोलामा आएको बाढीले यातायात अवरुद्ध भएको छ ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले बाढी पहिरोका कारण जिल्लामा मानवीय क्षति नभएको तर ग्रामीण सडकहरुमा पूर्णत यातायात बन्द रहेको बताए । बीपी र मध्य पहाडी लोकमार्गमा सडक माथिबाट जथाभावी खनिएका कच्ची सडकबाट लेदो र माटो खस्ने क्रम चलिरहेकाले सफाइका लागि स्थानीय तह र सुरक्षा निकाय तयारी अवस्थामै रहेको उनले जानकारी दिए ।

उनले भने, ‘पहिरो पन्छाउने काम पनि भइरहेको छ, माथिबाट लेदो माटो बगेर पनि आइरहेको छ । राजमार्ग माथि जथाभावी खनिएका कच्चि सडक समस्याको रुपमा देखा परिरहेका छन् ।’ सुनकोशी गाउँपालिका–१ को दुम्जा फाँटमा रोशी खोला र तीनपाटन गाउँपालिकामा चदाहा खोलाले धान खेत कटान तथा बाढी पसेर पुरेको छ । तीन पाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापाले मंगलबार बिहान वडा नम्बर १ को बेल्घारी फाँटमा चादाहा खोलामा आएको बाढी पसेर खेत पुरेको बताए ।

दुम्जामा माथिल्लो देवीस्थान फाँट र नेपालथोक फाँटमा रोशीले खेत कटान गरिरहेको स्थानीय उपेन्द्र कोइरालाले बताए । आदिलिंग कुशेश्वर महादेव मन्दिरको पश्चिमतर्फको छेउमै रोशी खोला पसेको छ । व्यवस्थित तटबन्धको अभावमा सुनकोशीको ठूलो फाँटमा वर्षेनी बाढीले क्षति पुर्‍याउँदै आएको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?