१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कर्मचारी फिर्ता नपठाउन फिक्कल गाउँपालिकालाई मन्त्रालयको निर्देशन

राजकुमार कार्की

सिन्धुली — फिक्कल गाउँपालिकाबाट गत साता मन्त्रालय फर्काइएका इन्जिनियरलाई गाउँपालिकामै फिर्ता गरेर काममा लगाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको  छ ।  

लोकसेवाबाट सिफारिस भएर खटिएका कर्मचारी फिर्ता पठाउने निर्णय कानुनविपरीत रहेको भन्दै मन्त्रालयले गाउँपालिकालाई वित्तीय समानीकरणको अनुदान समेत रोक्का गरिदिएको छ ।

फिक्कल गाउँपालिकाले इन्जिनियर विष्णुप्रसाद कँडेललाई अयोग्य ठहर गर्दै साताअघि मन्त्रालयमा फिर्ता पठाएको थियो । मन्त्रालयले मन्त्रिस्तरको निर्णय भन्दै गाउँपालिकालाई पठाएको पत्रमा लोकसेवा आयोगबाट सिफारिस भएका स्थायी कर्मचारीलाई कुन कानुनअन्तर्गत फिर्ता पठाइएको हो भनी प्रश्न सोधिएको छ । आगामी दिनमा कर्मचारी फिर्ता पठाउने र कानुन उल्लंघन हुने घटना नदोहोर्‍याउन पनि चेतावनी दिइएको छ ।

मन्त्रालयको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालयलाई समेत बोधार्थ गरिएको छ । गाउँपालिकाको उक्त निर्णय सहकारीता, समन्वय र सह–अस्तित्वको सिद्धान्तविपरीत रहेको मन्त्रालयले जनाएको छ ।

फिक्कल गाउँपालिकाले इन्जिनियर कँडेलले सन्तोषजनक काम नगरेको भन्दै असार ३१ गते गाउँ कार्यपालिकाबाट निर्णय गराई मन्त्रालयमा फिर्ता पठाएको थियो । गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीद्वारा हस्ताक्षरित पत्रमा गाउँपालिकामा रहेर पुर्‍याउनुपर्ने सहयोग तथा काममा सन्तोषजनक नदेखिएको, उपभोक्ता र जनप्रतिनिधिमा फरक प्रकृतिको व्यवहार गरेकाले गाउँपालिकामा सोही पदमा रही कामकाज गर्न अयोग्य भएको ठहर गर्दै हाजिर नगराउने र मन्त्रालयमा फिर्ता पठाउने उल्ल्खे गरिएको छ ।

‘कोरोना कहरको समयमा उपभोक्तासँग मिलेर जनतालाई सहयोग पुग्ने गरी काम गर्नुपर्नेमा इन्जिनियर कँडेलले दुःख दिने मात्र नियत राखेकाले बाध्य भएर फिर्ता गर्नुपरेको हो,’ कार्कीले भने ।

प्रकाशित : श्रावण ६, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?