बाटो छेकेर वडा सचिवलाई कुटपिट

टीकाप्रसाद भट्ट

रामेछाप — उमाकुण्ड गाउँपालिका–१ गुम्देलका वडा सचिव गणेश थापामाथि मंगलबार राति आक्रमण भएको छ । वडा कार्यालय जाँदै गरेका सचिव थापासहित तीन जनालाई सवारीसाधन रोकेर गुम्देलको ठाडो खोलामा केही युवकले कुटपिट गरेका  हुन् ।

थापाका अनुसार लिखु जलविद्युत् आयोजनानजिकै मादक पदार्थ सेवन गरी बसेका सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ का मिलन बस्नेत, सुमोध बस्नेत र सञ्जीव बस्नेतले गाडी रोकेर ढुंगामुढा गरेका थिए । आक्रमणमा थापासहित गुम्देलकी स्वास्थ्यकर्मी सिर्जना लामिछाने, सवारीधनी नरवहादुर विक र चालक राजु सामान्य घाइते भएका छन् । गुम्देलमा १० वर्षदेखि कार्यरत थापाका अनुसार कुटपिटमा संलग्नहरूसँग उनको चिनजान थिएन ।

थापाले राति नै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र प्रहरी नायब उपरीक्षक वसन्त पाठकलाई घटनाबारे जानकारी गराएको बताए । घटनापछि आयोजनाका कर्मचारी आएर उनीहरूलाई जोगाएका थिए । जिल्ला प्रहरी कार्यालय रामेछापले कुटपिटमा संलग्नहरूलाई कारबाही गरिने जनाएको छ ।

यसैबीच कर्मचारी ट्रेड युनियनले थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

प्रकाशित : असार २४, २०७७ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?