कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेपत्ता जीप खोज्न आफन्तद्वारा प्रहरीमा सम्पर्क

हरिहरसिंह राठौर

धादिङ — बिहीबार बिहान ५ बजे काठमाडौं जान घरबाट जीप लिएर निस्केका श्रीमानले पौने ६ बजे घरमा फोन गरेर मुग्लिन कटेको बताएलगत्तै सम्पर्कविहीन भएपछि आफन्तहरुले जिल्ला प्रहरीमा सम्पर्क गरेका छन् ।

त्रिशुलीमा बेपत्ता जीपको खोजीमा जुटेको सशस्त्र प्रहरीको टोली । तस्बिर सौजन्य : सशस्त्र प्रहरी कुरिनटार । 

स्कारपियो किनेर रिजर्भमा यात्रु बोक्ने पेसामा लागेका पूर्वी नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ४५ वर्षीय मणिलाल पाण्डे बिहीबार बिहान यात्रु लैजान ग २ च ९१५६ नम्बरको जीप लिएर एक्लै काठमाडौं गएका थिए । बिहान पौने ६ बजे घरमा श्रीमतीलाई फोन गर्दै आफू मुग्लिन कटेको सूचना दिएका थिए ।

‘घटनास्थलको प्रकृति, मुग्लिनबाट घटनास्थलको दूरी र पुग्ने समय, जीप खसेको देख्ने महिलाले भनेको समय मेल खाएको र मणिलाल जीप बोलाएका काठमाडौंका यात्रुको सम्पर्कमा पनि नगएको, नागढुंगाको सवारीसाधन प्रवेश सूचीमा पनि नभएकोले सोही स्कारपियो हुनसक्ने प्रहरीले अनुमान गरेको’ जिल्ला प्रहरी प्रमुख रविन्द्र रेग्मीले बताए ।

प्रहरी प्रमुखका अनुसार घटनाकाे प्रकृति हेर्दा जानाजान त्रिशूलीमा जीपसहित दुर्घटना गराएको हुनसक्ने अनुमान प्रहरीको छ ।शुक्रबार साँझसम्म पनि दुर्घटना र बेपत्ता व्यक्तिबारे केही भेउ नपाउँदा प्रहरीले दुर्घटना नै हो/हाेइन अलमलमा परेको छ ।

प्रकाशित : असार १९, २०७७ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्

राजधानीमा पत्रकारको प्रदर्शन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल पत्रकार महासंघले पत्रकारहरूको पेसागत सुरक्षा माग गर्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । कोभिड–१९ संक्रमणले सिर्जित समस्याका कारण सञ्चार गृहहरूले पत्रकारलाई अवकाश दिन, सेवा–सुविधा कटौती गर्न थालेपछि महासंघको आह्वानमा विरोध प्रदर्शन भएको हो ।

पत्रकारका संगठनहरूको समेत सहभागिता रहेको विरोध प्रदर्शनमा श्रमको सुरक्षा हुनुपर्ने, तलब र सेवा सुविधा दिनुपर्नेलगायत माग पत्रकारहरूले राखेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष गोविन्द आचार्यले सञ्चार गृहहरूले पत्रकारलाई काम गर्ने वातावरण बनाउनुपर्ने बताए । ‘तलबको समस्या छ, सार्वजनिक सवारी नचलेकाले कति पत्रकारले अफिस आएर काम गर्न सकेका छैनन्,’ उनले भने, ‘समस्या भएका पत्रकारलाई काम गर्ने वातावरण बनाउनुपर्छ ।’

महासंघका महासचिव रमेश विष्टले पत्रकारहरूलाई शोषण गर्न नपाइने बताए । उनले प्रेस स्वतन्त्रताका लागि लडेका पत्रकारलाई अहिले केही समस्या भयो भन्ने नाममा सेवाबाट हटाउन र तलब कट्टा गर्न नहुने बताए । सञ्चार गृहले आफ्नो विगतको मुनाफाबाट पनि अहिले खर्च गरेर पत्रकारहरूको पेसागत सुरक्षा गर्नुपर्ने बताए ।

प्रकाशित : असार १९, २०७७ २०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×