कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

वाग्मतीको बजेट बहुमतले पारित

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशको प्रदेशसभा बैठकबाट आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट बहुमतले पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकबाट विनियोजन विधेयक र अर्थसम्बन्धी विधेयक बहुमतले पारित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुले दुवै विधेयकको विपक्षमा मत दिएपछि विधेयक बहुमतले पारित भएको थियो । बैठकमा विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, सामाजिक विकास मन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा र आन्तरिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जवाफ दिएका थिए । बैठकमा विभिन्न दलका सांसदहरुले दर्ता गराएका खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । बजेटको विषयमा नेकपाभित्र विवाद हुँदा बजेट पारित हुन ढिला भएको थियो ।

वाग्मती प्रदेश सरकारले आगामी आवका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट पेस गरेको थियो । जुन चालु आर्थिक वर्षको भन्दा तीन अर्ब ८१ करोड ६९ लाख आठ हजार रुपैयाँ बढी हो । आगामी आवको चालुतर्फ कुल बजेटको ५१.१२ प्रतिशत अर्थात २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार रुपैयाँ र पुँजीगततर्फ ४८.८८ प्रतिशत अर्थात २५ अर्ब १४ करोड एकलाख ५९ हजार रुपैयाँ विनियोजन भएको छ ।

आगामी आर्थिक वर्षमा २० अर्ब ८३ करोड ७९ लाख राजस्व उठाउने अनुमान प्रदेश सरकारको छ । जुन गत वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँ कम हो । अनुदानतर्फ १७ अर्ब ६६ करोड ९८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । यस्तै अन्य राजस्वतर्फ ५ अर्ब १२ करोड ९७ लाख र राजस्व बचततर्फ सातअर्ब ५० करोड रुपैयाँ आम्दानीको लक्ष्य प्रदेश सरकारको रहेको छ ।

प्रकाशित : असार १९, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?