त्रिशूलीमा जिप खसेको बारे प्रहरी नै अन्योलमा

हरिहरसिंह राठौर

धादिङ — त्रिशूलीमा बिहीबार जिप खसेको भनिएको घटनामा थप तथ्य फेला नपर्दा प्रहरी अन्योलमा देखिएको छ । घटनासँग जोडिएका कोही सम्पर्कमा नआएको र जिप खसेको भन्ने बलियो प्रमाण नै नभेटिएको प्रहरीको भनाइ छ ।

त्रिशूलीमा जिप खसेको बारे प्रहरी नै अन्योलमा

गोरखाको गण्डकी–६ की ६० वर्षीया सुनमाया तामाङले धादिङका जिल्ला प्रहरी प्रमुख रवीन्द्र रेग्मीलाई घटनास्थलमै दिएको भिडियो बयानमा उनले सेतो एम्बुलेन्सजस्तो देखिने जिप मुग्लिनतर्फबाट आएर त्रिशूलीमा खसेको दाबी गरेकी थिइन् ।

सुनमायाले करिब अढाई घण्टा हिँडेर चितवनको सिमाना मौवाखोला बजारमा आई गाडी खसेको भनी सुनाएपछि बिहान साढे ६ बजे जोगीमारास्थित प्रहरीले पहिलो सूचना पाएको थियो । उनका अनुसार बेनीघाट–१०, मौवाखोला, बाँदरे मोडबाट बिहान जिप खसेको थियो । यस्तो खबर पाएपछि नेपाली सेना, कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टोली खोजीमा जुटेका थिए ।

धमिलो पानी र तीव्र बहावका कारण खोजतलासमा कठिनाइ भएपछि बिहीबार गोताखोर फिर्ता गरिए पनि फेरि खोजी जारी राखिएको कुरिनटारस्थित सशस्त्र प्रहरीको तालिम शिक्षालयका प्रमुख कालिदास धौबजीले बताए । उनका अनुसार अहिलेसम्म जिप कहाँबाट कता जाँदै थियो वा त्यसमा के–कति मान्छे थिए भन्ने विवरण खुल्न सकेको छैन ।

प्रहरीका अनुसार घटनास्थलमा कान्लामा माटो धस्सिएको, ढुंगा खसेको, स्थानीय बजारमा लगिँदै गरेको बिजुलीको एउटा तार चुँडिएको बाहेक अन्य ठोस प्रमाण फेला परेको छैन । ‘मुग्लिन बजारमा जडान गरिएको सीसीटीभी क्यामरा पनि बिग्रेपछि थप कठिनाइ भएको छ,’ धादिङ प्रहरी प्रमुख रेग्मीले भने । उक्त स्थानमा सडक सुरक्षाबार नरहेको र मोड पनि नभएकाले चालक एक्लै रहेको र निदाएको हुन सक्ने सम्भावनालाई ध्यानमा राखी चितवनतर्फका सबै प्रहरी एकाइलाई खबरसम्म गरिएको उनले बताए ।

प्रकाशित : असार १९, २०७७ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?