२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेकपाको विवादले प्रदेशसभा दैनिक प्रभावित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशको सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद हुँदा पछिल्लो समय दैनिकजसो प्रदेशसभाको बैठक प्रभावित भइरहेको छ ।

प्रदेशको राजधानी हेटौंडामा जारी सत्तारुढ नेकपा संसदीय दलको बैठकमा विवाद भएपछि तीनदिनदेखि प्रदेशसभा बैठक प्रभावित भइरहेको छ । नेकपा संसदीय दलको बैठकमा बजेटको बाँडफाँडको विषयलाई लिएर विवाद हुँदा बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर ५ बजेका लागि पुनः डाकिएको थियो । यसैगरी, मंगलबार र बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले सूचना टाँसेर ३ बजेका लागि पुनः बोलाएको थियो ।

नेकपाभित्र बजेटको विषयमा विवाद बढिरहँदा दैनिकजसो सूचना टाँसेर बैठक स्थगित गर्न संसद सचिवालय बाध्य भइरहेको छ । ‘नेकपा संसदीय दलको बैठकका कारण लगातार प्रदेशसभा प्रभावित भइरहेको छ,’ प्रदेशसभा सचिवालय स्रोतका अनुसार पछिल्लो समयमा नेकपाको संसदीय दलको बैठक अनुसार प्रदेशसभाको समय मिलाउन सचिवालय बाध्य भइरहेको छ ।

पाँच दिनदेखि हेटौंडा–२ स्थित होटल एभोकाडोमा नेकपा संसदीय दलको बैठक बसिरहेको छ । हेटौंडा–१० स्थित प्रदेशसभा भवनमा बस्‍ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयकमाथिको छलफल जारी रहेको छ । बजेटको विषयमा सत्तापक्षकै सांसद्‍बाट असन्तुष्टि व्यक्त हुन थालेपछि नेकपा संसदीय दलको बैठकबाट सहमतिको प्रयास भइरहेको छ ।

आगामी आर्थिक वर्षको बजेट बाँडफाँड गर्दा प्रत्यक्ष र समानुपातिक सांसद्लाई वेवास्ता गरेको, मुख्यमन्त्री र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले योजना आयोगलाई बाइपास गरेर आफूखुशी बजेट निर्माण गरेको भन्दै सांसद्हरुले विरोध गरिरहेका छन् । विशेष गरी पूर्वएमाओवादी र तत्कालीन एमालेभित्र माधव नेपाल पक्षधरका सांसदहरुले प्रदेश सरकारको विरोध गरिरहेका छन् ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले पेश गरेको विनियोजन विधेयकको क्षेत्रगत बाँडफाँड (रातो किताब) माथि छलफल सदनमा जारी रहेको छ ।

प्रकाशित : असार १८, २०७७ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?