त्रिशुलीमा जीप खस्यो, सशस्त्र प्रहरीको गोताखोरले खोजी गर्दै

रमेशकुमार पौडेल

चितवन — पृथ्वी राजमार्ग अन्तर्गत धादिङ जिल्लाको सिमानामा पर्ने मौवाखोला बाँदरेमोडबाट बिहीबार बिहान एउटा जीप त्रिशुली नदीमा खसेर बेपत्ता भएको छ । गाडीको कुनै पनि भाग देखिएको छैन । स्थानीय सुनमाया चेपाङले एम्बुलेन्सजस्तो देखिने सानो खाले गाडी नदीमा खसेको जानकारी गराइन् । सोही जानकारीको आधारमा प्रहरीको टोली गाडीको खोजीमा जुटेको छ ।

त्रिशुलीमा बेपत्ता जीपको खोजीमा जुटेको सशस्त्र प्रहरीको टोली । तस्बिर सौजन्य : सशस्त्र प्रहरी कुरिनटार । 

चितवन कुरिनटारमा रहेको सशस्त्र प्रहरीको तालिम शिक्षालयका प्रमुख रहेका सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) कालिदास धौबजीले खोजीमा गोताखोर परिचालन भएको बताए । ‘स्थानीयले बताएको विवरण अनुसार गाडी खसेको पक्का भएको छ । स्कारपियोजस्तो देखिने सानो गाडी नदीमा खसेको हुनुपर्छ । बिहान त्यस्तै साढे ६ बजेको आसपासमा घटना भएको हुनुपर्छ । अरु विवरण खुलेको छैन’ एसएसपी धौबजीले भने ।

कुरिनटारको विपद् व्यवस्थापन टोली गोताखोरसहित नदीमा गएर जीपको खोजी गरी रहेको उनले बताए । नदीमा खसेको जीप कहाँदेखि कता जाँदै थियो वा त्यसमा के कति मान्छे थिए भन्ने जस्ता विवरण पत्ता लाग्न सकेको छैन ।


प्रकाशित : असार १८, २०७७ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्

एउटा विद्रोही अनुहार

‘इनफ इज इनफ’ का यी अभियन्ता जति सरल छन्, उति नै आफूले उठाएका मुद्दामा प्रस्ट पनि छन् ।
गोकर्ण गौतम

काठमाडौँ — सेन्ट जेभियर्स पढ्थे, १० कक्षाको पहिलो दिन थियो, उनको ब्यागमा किताब थिएन, खल्तीमा राजीनामा थियो । प्रिन्सिपललाई सम्बोधन गर्दै लेखिएको राजीनामामा अबदेखि स्कुल नआउने र औपचारिक शिक्षा नपढ्ने जानकारी गराइएको थियो । शिक्षक र प्रशासनसँग ठाकठुक परिरहन्थ्यो, रिसले स्कुल नआउने भने होलान् भनेर उनको पत्रलाई स्कुलले गम्भीर रूपमा लिएन ।

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

उनी १४ वर्षका थिए त्यतिबेला । तर, सोचविचार गरेरै त्यो निर्णय लिएका थिए । त्यसपछि कहिल्यै स्कुल गएनन् । ९ कक्षासम्म पुग्दै उनलाई घोकन्ते पढाइ घाँटीमा आइसकेको थियो ।

१२ वर्ष बित्यो

कोभिड–१९ को सबल व्यवस्थापनको माग गर्दै पाटन दरबार स्क्वायरमा गत १२ गतेदेखि सत्याग्रह भइरहेको छ । पानीसमेत नखाई भइरहेको उक्त सत्याग्रहको सुरुवात गर्ने युवा उनै हुन्, जसले औपचारिक अध्ययनबाट विद्रोह गरेका थिए । जेठ अन्तिम साता राजधानीसहित देशका विभिन्न सहरमा ‘इनफ इज इनफ’ अभियानले व्यापकता पाएको थियो, नागरिकको जीवनरक्षाका लागि सरकार निकम्मा बनेको भन्दै हजारौं युवा सडकमा ओर्लिएका थिए । यसको सूत्रधार पनि उनै हुन् ।

उनी अर्थात ‘ई:’ । उनको नाम नै ई:

बुधबार दिउँसो पाटन दरबारस्थित कृष्णमन्दिर अगाडिको मणि मण्डप पुग्दा ई: सुतिरहेका थिए, ६ दिन भइसकेको थियो, उनको मुखमा अन्न–पानी नपरेको । उनको छेवैमा अरू अनसनरत तन्नेरी थिए, स्वास्थ्यमा समस्या देखिएपछि अरु दुई तन्नेरीलाई अस्पताल लगिएको छ, उनीहरु अस्पतालमै सत्याग्रह गरिरहेका छन् । ई: को मुख सुकिसकेको छ, शौचालय जानै अरूले समात्नुपर्ने भएको छ, बोल्न सकस हुन थालेको छ । उनी कुराकानीका लागि सक्षम छन् जस्तो लागेन । त्यसैले सोधियो– ‘बोल्न गाह्रो हुन्छ भने ठिकै छ, बरु भोलि बिहान कुरा गरौंला ।’ उनले थोरै मुस्कुराउँदै भने, ‘भोलिसम्म त अस्पताल पुगिएलाजस्तो लाग्छ । त्यसपछि के हो, के हो । जति सक्छु, अहिल्यै बोल्छु ।’ त्यसपछि गत असार १ गतेबाट २६ वर्ष टेकेका ई:ले बाल्यकालदेखिको आफ्नो भोगाइ सुनाए, जुन आममान्छेको भन्दा अलग मात्र होइन, धेरै कोणबाट विशेष पनि छ ।

अन्तरमनको आवाज पछ्याउँदै...

ई:ले बाबुआमाको प्रत्यक्ष छहारी सात वर्षसम्म पाए । त्यसपछि बुबाआमाको सम्बन्ध सुखद भएनछ, बुबा पैसा कमाएन विदेश गए । उनी मामाघरकी हजुरआमासँग बस्न थाले । त्यतिबेलै नन–फिक्सन किताबले तान्न थाल्यो, पाठ्यपुस्तकमा त्यति ध्यान जाँदैन्थ्यो । भन्छन्, ‘रट्नुपर्ने विषयमा कहिल्यै राम्रो अंक आएन, सिर्जनशील विषयमा सधैं अगाडि हुन्थेँ ।’ बुबाले पैसा पठाइदिने भएकाले भौतिक आवश्यकता पूरा गर्न समस्या थिएन, यद्यपि उनलाई बिस्तारै विद्यमान सामाजिक, पारिवारिक र शैक्षिक संरचनामा म फिट छैन भन्ने भान हुन थालेछ । जे कुरामा कर हुन्थ्यो, त्यो उनलाई गर्नै मन नलाग्ने । कौतुहलता र जिज्ञासा ज्यादा हुन्थ्यो, त्यसकै खोजीमा भेटेजति पुस्तक पढ्थे, अन्तरमनको आवाज अनुभूत गर्न खोज्थे । स्कुलले मात्र आफूभित्रको खोज पूरा हुन्न भन्ने निचोडमा पुग्न थाले ।

तर, पढाइ छोडिहाल्ने आँट आएन । जब उनलाई सारा सामाजिक अव्यस्थाको जड राजनीति हो, त्यसलाई सुधार्न राजनीति नै गर्नुपर्छ भन्ने बोध भयो, तब स्कुल छोडे । केही समय परिवारपछि परिवारले थाहा भयो, उनलाई सम्झाइबुझाई गर्न थाले । बुबासँग अचम्मको सर्त राखे– ‘एकपटक कमल थापालाई भेटाइदिनुस् अनि स्कुल जान्छु ।’

ई:को पारिवारिक पृष्ठभूमि ‘राजावादी’ थियो । राजतन्त्रप्रतिको मोहको प्रभाव ई:मा पर्ने भइहाल्यो । त्यही कारण आफूले त्यतिबेला कमल थापासँग भेट्न चाहेको उनी बताउँछन् । बुबाले भेट गराइदिए पनि । बुबालाई बाहिर पठाएर पहिलो भेटमै थापासँग दुई घण्टा ‘वान–टू–वान’ कुरा गरे । उनको आग्रह थियो– ‘म पार्टीमा काम गर्छु, मलाई लिनुपर्‍यो ।’ थापाले उनको आग्रह मानेनन्, सानै छौं, पढ्ने उमेर हो यो, अहिले पढ्, पछि राजनीति गर्नुपर्छ भनेर सम्झाए । तर, उनले न बुबासँगको सर्त पूरा गरे, न त थापाले भनेको माने । उनकै शब्दमा, जबर्जस्ती राप्रपा नेपालको कार्यक्रममा सहभागी हुन थाले । कतै सभा, र्‍याली छ भन्ने थाहा पाउनासाथ कुदिहाल्थे । अर्थात, १४ वर्षमै पार्टीको स्वेच्छिक ‘होल–टाइमर’ बने ।

पार्टीको संगठन सुधार्न भन्दै मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोकको गाउँ–गाउँ एक्लै चहार्न थाले, जहाँ गयो, त्यहाँका पार्टीका पुराना नेता/कार्यकर्ता भेट्थे, छलफल गर्थे, पार्टीलाई संगठित बनाउन खोज्थे । अंग्रेजी राम्रो भएकाले पार्टीको पत्रिकामा लेख्न थाले । कमल थापासँगै जिल्ला–जिल्ला पुग्ने, समाचार लेख्ने, मिडियालाई पठाउने । नयाँ मान्छेसँगको भेटले छुट्टै ऊर्जा मिल्थ्यो उनलाई । पार्टीको फेसबुक पेज बनाएर अपडेट गर्थे । कति पटक घरमा पैसा मागेर आफैं दूरदराज पुगे ।

दुई वर्ष दौडधुपमै बित्यो । एक्कासि पार्टी परित्याग गरे । किन ? भन्छन्, ‘विचार मिलेन । मैले दु:ख गरिरहेको छु, पार्टीका मान्छेले बुझेनन्जस्तो लाग्न थाल्यो । पार्टीको सिस्टम देखेर दिक्क लाग्यो ।’ अर्को के बोध भएछ भने ‘राजनीतिबाट पार लाग्दैन ।’ त्यसपछि उनी थप खोजमा लागे । त्यो भनेको, लेखपढ र घुमघाम ।

केही समयपछि विवेकशील नेपाली मञ्चसँग जोडिए, त्यसको भिजन र आइडिया बनाउन भूमिका खेले । ‘तर, जब दल बन्यो, त्यसपछि आबद्ध भइनँ । मैले सुरुमै पार्टी बनेपछि बाहिरिन्छु भनेर घोषणा गरेको थिएँ,’ उनले भने । राजनीतिमा सहभागी नभए पनि विभिन्न अभियानमा सक्रिय थिए । ‘अकुपाई बालुवाटार’ र हनुमानढोका निजीकरणविरुद्धको अभियानको फ्रन्टलाइनरमध्ये एक हुन् उनी । ‘म स्वदेशी’ अभियानमार्फत विभिन्न अन्तरक्रिया कार्यक्रम गरे । दोस्रो संविधानसभा निर्वाचनताका नयाँ अनुहारले मौका पाउनुपर्छ भन्दै अभियान चलाए । विदेशीसँग अनुदान नलिई साथीहरुसँग समन्वय गर्दै सामुदायिक पुस्तकालय बनाउन लागिपरे ।

अँ साँच्चि, स्कुल छोडेताकैबाट उनले घर छोडिसकेका थिए । साथीहरुसँग बस्न थालेका थिए । अहिले पनि घरमा बस्दैनन् । नागरिकताको नाम पनि त्यागे । नाम र थरले निर्माण गर्ने व्याख्याभित्र बाँधिन चाहेनन् । उनले कुराकानीका क्रममा पुरानो नाम उल्लेख नगर्न पटक–पटक आग्रह गरे । ‘ई: नाम युनिभर्सल साउन्ड लाग्छ । निश्चित परिधि नाघेर उड्न मन लाग्यो । ई:को विशेष अर्थ केही लाग्दैन,’ उनले भने ।

अनन्त यात्री

सात वर्षबाटै ई: पूर्ण शाकाहारी बने, पशुपन्छी काटमारको विरोध गर्थे । अलि ठूलो भएपछि दसैंको नवरात्रिमा व्रत बस्न थाले । एक सालको दसैंमा पाटनढोकामा व्रत बसिरहेका थिए, धेरैले उनलाई भनेछन्– ‘मधेसमा त्यत्रो ज्यादती छ । मान्छे मारिरहेका छन्, तिमीचाहिँ जनावर मारेको चिन्ता छ ।’ यो कुराले उनको दिगागमा हान्यो, मधेसको समानान्तर इतिहास पढेका थिए, राज्यप्रणालीको मधेसमाथिको विभेदबारे जानकार थिए । तर, आफ्नै आँखाले मधेसलाई गहिरोसँग नियालेका थिएनन् । त्यसैले मधेस लागे, खल्तीमा थियो, जम्मा चार हजार ।

३५ दिन हिँडेरै मधेस घुमेँ, पिँधका मान्छेको पीडा बुझे । त्यहाँको भूगोल, सामाजिक र सांस्कृतिक परिवेश अनुभूत गरे । उनलाई लाग्यो, घुम्नु भनेको धेरै नयाँ प्रश्न जन्मनु हो र उत्तर पनि पाउनु हो । त्यसैले यात्रालाई सधैं प्रधानतामा राखे । हिँडेर हिमाल, पहाड र तराई तीन फन्को मारेका छन् । नेपालको कुनाकाँप्चा पुगेका छन् । ‘सबै कुराबाट विक्षिप्त भइरहेको थिएँ । मेरो अन्तर आवाजले घुम्ने, पढ्ने र नयाँ मान्छे भेट्ने भन्यो, मैले त्यस्तै गर्न थालेँ,’ मसिनो स्वरमा उनले भने । कहिलेकाहीँ कफी पसल छिर्छन्, दिनभर किताब पढ्दै त्यही बिताइदिन्छन् । कहिले एक्लै बिनाउद्देश्य गाउँ टहलिन्छन् । सूत्र, नियमितता र संरचना उनको दैनिकीमा हुँदै हुन्न । एक समय सेतो कपडा, नेपाली टोपी र चप्पल लगाएर हिँड्थे । अहिले त्यही जे भेट्छन्, त्यही लगाउँछन् । यो र त्यो भन्ने छैन ।

सन् २०२० लाई उनले नेपालबाहिरको संसार घुम्ने वर्षका रूपमा बिताउने योजना बनाएका थिए । लकडाउन हुँदैन्थ्यो भने यतिबेला बंगलादेश वा अस्ट्रेलियामा पाइला नापिरहेका हुन्थे । लकडाउनको सुरुवाती समय पढेरै बिताए । बिस्तारै सरकारको लापरबाही, संक्रमण समुदायमा फैलिने भय, क्यारेन्टाइनको दुर्दशा, मेडिकल सामग्री खरिदमा घोटलाको समाचार दिनदिनै आउन थाल्यो । इन्टरनेटमा कोरोनालाई पराजित गरेका देशले लिएको नीति, भाइरसको चरित्र, समयमै सम्हाल्न नसक्दाको परिणामबारे अध्ययन गरे । त्यसपछि उनी झन् बेचैन बने । कारण, सरकार जसरी अगाडि बढिरहेको थियो, त्यसले महामारीलाई नियन्त्रणमा ल्याउने सामथ्र्य राख्दैन्थ्यो । ‘नागरिकको ज्यान जोखिममा परेको बेला सरकारको लापरबाही देखेर आक्रोश र निराशा जन्मियो, त्यतिकै बस्नुहुन्न भन्ने लाग्यो,’ उनले सुनाए । सुरुमा भर्चुअल विरोध गरे, स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र बुझाए, तर त्यसको प्रभावकारिता नभएपछि सडकमै आउनुको विकल्प देखेनन् । त्यसपछि इन्स्टाग्राममार्फत युवाहरुसँग प्रत्यक्ष संवाद गर्न थाले, जोसँग सरकारप्रतिको आक्रोश थियो, पोख्ने माध्यमको खोजीमा थिए ।

प्रविधि प्रयोगमा ई: माहिर छन् । इन्स्टाग्रामपछि फेसबुकमा सक्रिय भए, सडकमा शान्तिपूर्ण विरोधमा उत्रन आह्वान गरे । ‘इनफ इज इनफ’ सामाजिक सञ्जालमा फैलियो । तर, त्यति धेरै मान्छे एकैसाथ सडकमा आउँछन् भन्नेचाहिँ उनले पनि सोचेका थिएनन् रे । भन्छन्, ‘सबै स्वतस्र्फुत सडकमा आउनुभयो, सरकारप्रतिको असन्तुष्टिको परिणाम थियो त्यो ।’ त्यो आन्दोलनपछि उनी र अनेक अभियानले अनेक आरोप सामना गर्नुपर्‍यो । कसैले विदेशी शक्तिबाट परिचालित भने । ई:को राजनैतिक विचारधाराप्रति प्रश्न उठाइयो । ‘जसलाई हाम्रो विरोधले सरकार ढल्छ वा ढाल्न खोजियो भन्ने लाग्यो, उहाँले नानाथरी आरोप लगाउनुभयो । तर, हाम्रो उद्देश्य त्यस्तो थिएन । त्यसैले सबैलाई जवाफ दिइरहनुपर्छजस्तो लाग्दैन,’ आक्रोशमय भावमा उनले भने, ‘एक समय हामीले सिके राउतलाई भेटेर शान्तिपूर्ण आन्दोलनमा आउन पत्र दिएका थियौं । त्यसको समेत अपव्याख्या गरेर लाञ्छना लगाइयो । अनि के भन्नु ?’

‘इनफ इज इनफ’ भन्दै युवाहरु सडकमा आए तर कोभिड–१९ बाट नागरिकलाई बचाउन राज्य तहबाट सकारात्मक कदम चालिएन । संक्रमण बढ्दै गयो । त्यसैले अन्तिम विकल्पका रूपमा सत्याग्रह सुरु गरेको ई: बताउँछन् । उनले यसलाई आफ्नो नैतिक जिम्मेवारी पनि ठानेका छन् । ‘केही आकांक्षा राखेर सत्याग्रह गरेको होइन, सत्य कुरा लिएर अगाडि आएको हो । अहिल्यै सरकार गम्भीर हुनुपर्छ । शतप्रतिशत पीसआर हुनुपर्छ । नत्र भोलि भयावह स्थिति आउँछ,’ उनले भने, ‘हामीलाई गतिशील र विश्वव्यापी यथार्थ आत्मसात् गर्ने सरकार चाहिएको छ ।’

उनलाई थाहा छ, कोरोनापछि पनि जीवन छ । तर, त्यसपछि के गर्ने, सोचेका छैनन् । तत्कालै राजनीति गर्ने योजना नभएको बताए । घुम्न र बुझ्न बाँकी छ । तर, जति बुझ्यो, त्यति समाजमा फिट हुन गाह्रो हुने रहेछ भन्ने बोध हुन थालेको छ । साथीहरु भेट्छन्, सबैमा राज्यप्रणालीप्रति असन्तुष्टि छ तर अगाडि आएर विरोध गर्ने इच्छाशक्ति छैन । आफू एकोहोरो लागिरहँदा के पाइन्छ, त्यसको पनि लेखाजोखा गर्दैनन् ।

युवावयमा गरिने मोजमस्तीबाट परै छन्, हरबखत देशदुनियाँको अध्ययन र चिन्तनमै मग्न हुन्छन् हरबखत । उनको परिवार तुलनात्मक रूपमा सम्पन्न छ, चाहेको भए सुविधा र विलासी जीवन बिताउन सक्थे, तर आफैंले ‘अप्ठयारो’ रोजे । कहिलेकाहीँ पश्चताप लाग्दैन ? करिब आधा घण्टा बोल्दा उनी थाकिसकेका थिए । त्यसैले मसिनो स्वरमा जवाफ दिए, ‘अँह, लाग्दैन । घाँटी सुक्यो, बोल्नै नसक्ने भएँ । बाँकी कुरा पछि गरौं है ।’

प्रकाशित : असार १८, २०७७ १०:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×