३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अस्पतालले गलत रिपोर्ट दिँदा संक्रमित युवती परिवारसँग घुलमिल

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल अस्पतालले झुक्किएर अर्कैको रिपोर्ट दिँदा कोरोना संक्रमित एक युवती परिवारसँग घुलमिल भएकी छन् । अस्पतालकै रिपोर्टका आधारमा क्वारेन्टाइनबाट घर पठाइएकी उनको वास्तविक रिपोर्ट भने पोजिटिभ रहेको खुलेको छ ।

अस्पतालले गलत रिपोर्ट दिँदा संक्रमित युवती परिवारसँग घुलमिल

बनेपा–१० की २४ वर्षीया ती युवती जेठ २९ गते कुवेतबाट फर्किएकी हुन् । बुडोलमा बनेपा नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा बसेकी उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन भएको थियो । तर, अस्पतालले एउटै नाम गरेकी अर्कै महिलाको नेगेटिभ आएको रिपोर्ट उनलाई दिएपछि नगरपालिकाले १४ दिनपछि घर पठाएको थियो ।

अस्पतालले आफ्नो गल्ती स्विकारेको छ । ‘नाम र उमेर एउटै रहेछ, ठेगाना यकिन नगरी अर्कैको रिपोर्ट पठाइदिएछन्,’ अस्पतालका सूचना अधिकारी दीपक दाहालले भने, ‘गल्ती नदोहोर्‍याउन ल्याबका कर्मचारीलाई सचेत गराएका छौं ।’

अहिले संक्रमितको परिवारका ६ जनालाई नै क्वारेन्टाइनमा राखेर कन्ट्याक्ट ट्रेसिङ भइरहेको वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए । कुवेतबाट फर्किएदेखि क्वारेन्टाइनमा रहेकी उनको ११औं दिनमा गरिएको आरडीटी शंकास्पद देखिएपछि पीसीआर गरिएको थियो । बनेपा नगरपालिकाले अस्पतालले दिएको रिपोर्टकै आधारमा घर पठाइएको बताएको छ ।

यसअघि पाँचखाल नगरपालिकाका एक युवकको घर फर्किएको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । तत्काल उनको परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको थियो । यसअघि संक्रमित भएका ६ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : असार १८, २०७७ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?