रामेछापमा वर्षासँगै हिलोले थुनिए सडक

टीकाप्रसाद भट्ट

रामेछाप — वर्षाले हिलो जमेर सडक अवरुद्ध हुँदा रामेछापका ३ वटा गाउँपालिकामा आवतजावत कष्टकर बनेको छ । गोकुलगंगा, लिखु तामाकोसी र उमाकुण्ड गाउँपालिकामा सवारी सञ्चालन नहुँदा योजनाको अनुगमन र खाद्यान्न ढुवानी प्रभावित भएको छ ।

उमाकुण्ड गाउँपालिकामा लिखु जलविद्युत् आयोजना र स्थानीयबीचको विवादबारे स्थलगत रिपोर्टिङका लागि गएका पत्रकार शनिबार गोकुलगंगा गाउँपालिकाको सडक नै पार गर्न सकेनन् । नामाडी, बेताली र रस्नालुको सडकमा ५ घण्टाभन्दा बढी सवारी साधन ठेलेका उनीहरू गन्तव्य पुग्न नसकेपछि सदरमुकाम नै फर्किएका थिए ।

सडकमा परेका खाडल र हिलोका कारण साना–ठूला कुनै सवारी साधन चल्दैनन् । गोकुलगंगाको चुचुरेदेखि बाम्तीसम्मको सडकमा दर्जनौं स्थानमा ठूला खाडल छन् । सडक बिग्रेकैले गाउँपालिकाले सिंगटी हुँदै प्रीति र बाम्ती जान ठूला सवारीलाई प्रतिबन्ध लगाएको छ । प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदीका अनुसार गाउँपालिकाको केन्द्र पुग्न बर्खामा पैदल हिँड्नुपर्ने बाध्यता निम्तिने देखिएकाले सडक बिगार्ने ठूला सवारीसाधन रोकिएको हो ।

लिखु जलविद्युत् आयोजनाका ठूला मेसिन बोक्ने ढुवानी साधन गुडाउँदा सडक बिग्रिएको गाउँपालिकाले जनाएको छ । हिलो पन्छाएको एकै दिन फेरि उस्तै हुने भएकाले गाउँपालिकाले समेत सडक मर्मत गर्न छोडेको छ ।

आयोजनाले सडकमा फसेका ढुवानीका साधन तान्न र घचेट्न लोडर र एक्स्काभेटर राख्ने गरेको छ । एउटा गाडीलाई तान्ने र ठेल्ने काममा अरू दुईवटा मेसिनले दिन बिताउँछन् । साना सवारीले मागेजति पैसा दिएर ठूला सवारीसाधनलाई तान्न लगाउँछन् ।

लिखु तामाकोसी गाउँपालिकाको नागदह खण्डको सडक लिखु ३ र ४ आयोजनाका सवारीसाधनले जर्जर बनाएका छन् । गाउँपालिकाका इन्जिनियर जीवन अधिकारीका अनुसार जति मर्मत गर्दा पनि ठूला सवारीले पेल्दा एकै दिनमा सडक हेरिनसक्नु बन्छन् । पानी पर्ने क्रम नरोकिएकाले सडकमा यात्रा कठिन रहेको उनले वताए ।

हिलो र खाडलका कारण सवारी साधन गन्तव्यमा पुर्‍याउनै हम्मे छ । ‘पुगिहाले पनि एकै पटकमा ५० हजारभन्दा बढी मर्मत खर्च लाग्छ,’ यातायात व्यवसायी चित्रवहादुर श्रेष्ठले भने, ‘ज्यान र गाडी दुवैको जोखिम त छदैछ, सडकमा अड्किँदा भोक–निद्रा नि हराइसक्यो ।’

प्रकाशित : असार १६, २०७७ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

‘क्वारेन्टाइनलाई सरकारले जेल बुझ्यो’

अतुल मिश्र

काठमाडौँ — व्यवस्थापकीय कमजोरी, आधारभूत सुविधाको अभाव र कसैले स्वामित्व नलिँदा देशभरका क्वारेन्टाइन असफल हुँदै गएको विज्ञहरूले बताएका छन् । उनीहरूले क्वारेन्टाइन पछिल्ला दिनहरूमा कोरोना संक्रमण केन्द्र, मृत्यु हुने ठाउँजस्ता भएको बताउँदै त्यहाँ राखिएकाहरू भाग्न थालेको बताए ।

दैलेखको छिउडीस्थित एक विद्यालय (क्वारेन्टाइन) को कोठामा बसेका भारतबाट आएकाहरु । तस्बिर : कलेन्द्र सेजुवाल/कान्तिपुर

‘स्थानीय तह, प्रदेश वा केन्द्र कसैले स्वामित्व लिन नै खोजेनन्,’ वीरगन्जस्थित नारायणी अस्पतालका प्रमुख डा. मदनकुमार उपाध्याय भन्छन्, ‘क्वारेन्टाइनमा अत्यन्त ठूलो व्यवस्थापकीय कमजोरी देखिएको छ ।’ उनले क्वारेन्टाइन सञ्चालनबारे केन्द्रले निर्देशिका बनाए पनि स्थानीय तहलाई त्यो अक्षरश: पालना गर्न अत्यन्त गाह्रो भएको औंल्याए । ‘निर्देशिकामा भनिएअनुसारको जनशक्ति, पूर्वाधारलगायतको व्यवस्थापन गर्ने क्षमता स्थानीय तहसँग भएन,’ उनले भने ।

पछिल्लो समय पीसीआर परीक्षण रिपोर्ट आउन धेरै समय लाग्दा क्वारेन्टाइनमा बसेकाहरू वाक्क भएर भाग्ने गरेको देखिएको छ । विज्ञहरूका अनुसार देशका अधिकांश क्वारेन्टाइन जनमैत्री छैनन् । त्यहाँ बस्नेहरूलाई खानपान, हेरचाह, सुरक्षा, मनोरन्जनको व्यवस्था हुन सकेन । क्वारेन्टाइनमा राख्नुपर्नेको संख्या बढ्दै गए पनि ठाउँ खुम्चिँदै जाँदासमेत समस्या भएको उनीहरूको बुझाइ छ । ‘हामीले क्वारेन्टाइनमा बस्नेको मानसिकता बुझ्न सकेनौं,’ डा. उपाध्याय भन्छन्, ‘क्वारेन्टाइन पुग्नेबित्तिकै उनीहरूमा विक्षिप्तताको अवस्था आयो, गुप्तवास जस्तो स्थिति भयो ।’

क्वारेन्टाइनमा आधारभूत सुविधा उपलब्ध नहुँदासम्म यस्तो अवस्था रहिरहने बताउँछन् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.जीडी ठाकुर । ‘काठमाडौंमा चीनबाट ल्याइएका नेपाली राख्दा क्वारेन्टाइनबाट किन कोही भागेन ? हालको क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरी छ,’ उनले भने, ‘जबसम्म क्वारेन्टाइनमा आधारभूत सुविधा दिइन्न, कैदीलाई जस्तो व्यवहार हुन्छ, त्यहाँ को बस्छ ?’

सरकारले क्वारेन्टाइनमा लगानी गर्न नचाहेको उनको आरोप छ । ‘राजनीतिक कुरामा बढी व्यस्त हुँदा सरकारको प्राथमिकतामा कोरोना नियन्त्रण परेन । यही कारण क्वारेन्टाइनको वर्तमान स्थिति देखिएको हो,’ उनले भने, ‘क्वारेन्टाइनमा सरकारले कति खर्च गर्‍यो, जनताले कति पाए, यसको खोजी आवश्यक छ, क्वारेन्टाइन सञ्चालन गर्नेहरूले आर्थिक बचत गरे, त्यहाँ आर्थिक पृष्ठपोषणबाहेक केही भएन ।’

क्वारेन्टाइनमा १४ दिन बसेपछि पनि पीसीआर परीक्षण रिपोर्टका लागि थप कुर्नुपर्ने अवस्थाले समेत त्यहाँ बसेकाहरू आत्तिए र भाग्न थाले । त्यसपछि, सरकारले लक्षण नदेखिएकालाई क्वारेन्टाइनबाट पीसीआर नगरी पठाउन भने पनि केहीबाहेक स्थानीय सरकार भने यसमा सहमत भएनन् । यसले गर्दा पनि पीसीआर परीक्षणका लागि कुर्नुपर्ने स्थिति देखियो । क्वारेन्टाइनमा पछिल्लो केही दिनयता मृत्यु हुन थालेपछि पनि त्यहाँ बस्ने व्यक्ति डराएर भाग्न थालेका डा. ठाकुरले औंल्याए । ‘क्वारेन्टाइनको अर्थ सरकारले जेल बुझ्यो, चारैतिर पुलिस राख्यो तर आधारभूत सुविधा दिएन ।’

विज्ञहरूले व्यवस्थापकीय अभाव देखिएको आधारभूत सुविधाविहीन क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइन राम्रो हुने सुझाएका छन् । यस्ता होम क्वारेन्टाइन वा आइसोलेसनमा आम व्यक्तिलाई अभिमुखीकरण गरेर पठाउँदा उपयुक्त हुने पनि उनीहरूको सुझाव छ । हाल मुलुकभर ६५ हजार ७ सय १२ जना क्वारेन्टाइनमा र ९ हजार २ सय ४३ जना आइसोलेसनमा छन् ।

प्रकाशित : असार १६, २०७७ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×