सुस्मिताको हत्याका आरोपी सार्वजनिक

सुवास विडारी

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–४, कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा मकवानपुर प्रहरीले सोमबार  चार जनालाई सार्वजनिक गरेको छ ।

प्रहरीले आर्थिक, मानसिक र यौनजन्य हिंसापश्चात् सुनियोजित रुपमा परिवारबाटै उक्त हत्या भएको निष्कर्ष निकाल्दै उनीहरुलाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको आरोपमा मृतक थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसा थापा, २३ वर्षीया नन्द सीता थापा र २७ वर्षीया अमाजू दुर्गा थापालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

सुस्मिता आफ्नै घरको भान्सा कोठामा असार २ गते मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले सुस्मिताको हत्या आरोपमा मृतकका ससुरा र नन्दलाई असार ४ गते नै पक्राउ गरी ज्यानसम्बन्धी कसुर मुद्दामा अनुसन्धन प्रक्रिया सुरु गरेको थियो । प्रहरीले १३ दिनको अनुसन्धानपश्चात् घटनाको टुंगो लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।

उनको हत्या असार १ गते राति १० बजेको समयमा नै भएको अनुसन्धानबाट खुलेको छ । ‘भान्सा कोठामा नन्द सीतासँग खाना खाइरहेको अवस्थामा एक्कासि ससुराले पछाडिबाट काठले सुस्मितालाई हानेको देखिन्छ । ससुराले काठले हानेपछि नन्दले लोरोले हानेर उनको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक राठौरले नौ महिना अगाडि ससुराली कपिलवस्तुबाट फर्केने क्रममा नवलपरासीको दाउन्नेमा सवारी दुर्घटनामा सुस्मिताका पतिको निधन भएको बताए ।

‘पतिको निधनपश्चात् नियमितजसो सुस्मितालाई परिवारबाटै यातना भइरहेको देखिन्छ,’ प्रहरी उपरीक्षक सिंहका अनुसार सुसराले मृतक बुहारीलाई बाथरुममा जबर्जस्ती करणीको प्रयास समेत भएको अनुसन्धानको क्रममा खुलेको छ । ‘आफूले गरेको करणी प्रयास बाहिर आउँदा सामाजिक प्रतिष्ठा जाने र छोराको निधनपश्चात् प्राप्त रकमको विषयलाई लिएर मारेको देखिन्छ,’ राठौरले भने ।

प्रहरीका अनुसार मृतककी पतिको निधनपश्चात् दुर्घटना, बिमा, सामाजिक सुरक्षा कोष तथा कार्यरत संस्थाबाट करिब ५५ लाख ६० हजार तीन सय २४ रुपैयाँ प्राप्त भएको रकमको विषयलाई लिएर समेत परिवारमा कलह अवस्था सिर्जना भएको थियो । बिमाको रकम दश लाख ६३ हजार नौ सय चौध रुपैयाँ समेत भने ससुराले झिकिसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामचार

प्रकाशित : असार १५, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्

असार १५ को रौनक [तस्बिरहरू]

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — आज असार १५, विविध कार्यक्रम गरी देशैभर धान दिवस मनाइँदैछ । ललितपुरको खुमलटारमा पनि कृषि विभाग, कृषि अनुसन्धान परिषद्(नार्क)ले औपचारिक कार्यक्रम आयोजना गरी रोपाइँ महोत्सव मनाएको छ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ ।

रोपाइँ कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले धान खेतीको विकासका लागि उन्नत जातको धानको बीउ प्रयोग गर्ने वातावरण अझै पनि बन्न नसकेको बताए । उनले अझै पनि तराईको ८० प्रतिशत भूभागमा पुराना जातहरुको रोपाइँ भइरहेको बताए । उनले कृषि अनुसन्धान र किसानको बीचमा ठूलो खाडल रहेकाले उन्नत जातको बीउ किसानले पाउन नसकेको बताए ।

त्यस्तै नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी निर्देशक दिपक भण्डारीले नेपालमा विकास भएका धानको बीउको प्रयोग बढाउनुपर्ने बताए । नेपालमा ‘हर्दिनाथ हाइब्रिड–१’ र ‘हर्दिनाथ हाइब्रिड–३’ जातको धान विकास भइसकेकाले यसको प्रयोग बढाउनुपर्ने उनले बताए । उनले नेपालमा परम्परागत रुपमा धान दिवस मनाइँदै आएको र यसले किसानहरुको आत्मबल बढाउने गरेको बताए ।


प्रकाशित : असार १५, २०७७ १२:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×