चितवनमा रोपाइँ : यसपालि आएनन् मधेसका खेताला

रमेशकुमार पौडेल

चितवन — आकासे पानीको भरमा रोपाइँ गर्दै आएका चितवनका किसान यस वर्ष खुसी छन् । वैशाखयता पानी नपरेको दिन कमै छ । अघिल्ला वर्षजस्तो लामो खडेरी छैन ।

चितवनमा रोपाइँ : यसपालि आएनन् मधेसका खेताला

तर धान रोप्न मौसम मात्र अनुकूल भएर पुग्दैन, अरू पनि थुप्रै कुराको साथ चाहिन्छ । धान दिवसका अवसरमा आइतबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा किसानका यस्तै समस्याबारे चर्चा गरियो ।

भरतपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले मौसमले साथ दिए पनि धान रोप्न कामदार अभाव रहेको औंल्याए । उनका अनुसार विगतमा चितवनमा धान रोप्न र काट्न तराई–मधेसका अन्य जिल्लाबाट झन्डै १० हजार कामदार आउँथे । ती प्रायः पुरुष हुन्थे । सुरुसुरुमा पुरुषले धान रोपेको दृश्य नौलो मानिन्थ्यो । तर यसपालि कोरोना त्रास र लकडाउनले एकअर्को जिल्ला जान सहज छैन । त्यसैले कामदार पनि पहिलेजस्तो आएका छैनन् । पर्म र रैथाने खेतालाकै भरमा रोपाइँ सुरु भएको छ ।

पूर्वी चितवनमा चाँडै रोपाइँ सुरु हुन्छ । खैहरनी नगरपालिका–१३ बैरियाका बलराम भण्डारीको खेतमा असार ९ गते खेताला छपक्कै थिए । आडैमा राम अधिकारी रोपाइँको तयारी गर्दै थिए । आली लगाउँदै गरेका उनले यसपटकको रोपाइँ पहिलाजस्तो सजिलो नहुने बताए । ‘केही वर्षयता तराईबाटै रोप्ने, काट्ने सबै जना आउँथे । अहिले आएका छैनन् । आउन सक्ने अवस्था पनि छैन,’ उनले भने ।

मधेसबाट आउनेहरू बिघाको १० हजार रुपैयाँका दरले रोप्ने ठेक्का लिएर एक समूहमा १०/११ जनाले काम गर्थे । तीन दिनमा चार बिघासम्म खेत रोपिदिन्थे । ‘अब यही खेत रोप्न मलाई ६२ जना रोपाहार लाग्छ,’ अधिकारीले भने, ‘खर्च दोब्बर हुने भयो ।’ भण्डारी पनि पहिले मधेसबाट कामदार आउँदा रोपाइँ सस्तो र सजिलो हुने गरेकोमा अहिले ज्याला बढी दिनुपरेको बताउँछन् ।

खैरहनी–१२ कपियाकी सीता चौधरी यसपालि पर्म लगाएरै रोपाइँ गर्ने योजनामा छिन् । आफ्नो खेत रोप्न आएकालाई उसको पनि खेत रोप्नै गएर सघाउने चलनलाई पर्म गरिन्छ । ‘यो हाम्रो पुरानो चलन हो । बाहिरका मान्छे नपाएपछि यसरी पनि काम गर्न सकिन्छ,’ उनले भनिन् ।


हिलोमा मेसिन चलाएर धान रोप्न सकिने प्रविधि पनि नआएको होइन । तर यस्ता मेसिन चितवनमा निकै कम छन् । भरतपुर–२६ दिव्यनगरस्थित बृहस्पति आधुनिक कृषि फार्ममा यस वर्ष १५ बिघामा मेसिनबाटै धान रोप्ने तयारी छ ।

चितवनमा ३० हजार हेक्टरमा धानखेती हुन्छ । यसका लागि दुई सयजति मेसिन आवश्यक पर्ने केन्द्रका प्रमुख ढकालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनको धान जोनका कृषि अधिकृत माधव पौडेलका अनुसार धान रोप्ने मेसिन पूरै जिल्लामा तीनवटा मात्र छन् ।

कामदारपछि किसानलाई अर्को ठूलो समस्या रासायनिक मलखादको छ । तर केन्द्र प्रमुख ढकाल तत्कालका लागि आवश्यक मलखाद बजारमा उपलब्ध रहेको बताउँछन् । ‘अहिले बजारमा नपाइने भनेको युरिया मल हो । धान रोपेको तीन हप्तापछि युरिया आवश्यक पर्छ । त्यो बेलासम्म पनि नआए समस्या पर्ने हो,’ उनले भने ।

प्रकाशित : असार १५, २०७७ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?