कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वाग्मतीमा साढे २४ सय आइसोलेसन बेड थपिँदै

प्रताप विष्ट

हेटौंडा — वाग्मती सरकारले प्रदेशभरि आइसोलेसन बेडको संख्या दोब्बरभन्दा बढी पुर्‍याउने तयारी गरेको छ ।

वाग्मतीमा साढे २४ सय आइसोलेसन बेड थपिँदै

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबार बसेको प्रदेश कोभिड संकट व्यवस्थापन समितिको बैठकले २ हजार ४ सय ५० बेड थप्ने निर्णय लिएको हो । प्रदेशमा हाल १ हजार २ सय ५८ वटा आइसोलेसन बेड छन् ।

समितिका अनुसार थपिनेमध्ये १० प्रतिशत बेड महिलाका लागि छुट्ट्याइनेछन् । उपत्यकाका तीन जिल्लामा १ हजार, चितवन, मकवानपुर, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र सिन्धुलीमा २/२ सय, सिन्धुपाल्चोकमा १ सय र दोलखा, रामेछाप र रसुवामा ५० /५० वटा आइसोलेसन बेड तयार गरिनेछ ।

यसै गरी वैदेशिक रोजगारीमा गई फर्किएकालाई त्रिभुवन विमानस्थलदेखि जिल्ला सदरमुकामसम्म पुग्ने यातायात खर्च वैदेशिक रोजगार बोर्डले बेहोर्ने गरी केन्द्रीय कोरोना संकट व्यवस्थापन केन्द्रलाई अनुरोध गर्ने र सदरमुकामदेखि स्थानीय तहसम्मको यातायात खर्च स्थानीय तहले गर्ने निर्णय भएको छ ।

कोभिड–१९ संक्रमितको उपचार र संक्रमण रोकथामका लागि केन्द्रबाट प्राप्त हुने औषधि तथा सामग्रीबाहेक प्रदेशलाई आवश्यक पर्ने सामग्रीको व्यवस्थापन, प्रदेश स्तरमा पीसीआर टेस्ट र प्रयोगशालाको क्षमता बढाउन सामाजिक विकास मन्त्रालयले व्यवस्था मिलाउने पनि समितिको निर्णय छ ।

कोभिड–१९ बाट बढी मानिस संक्रमित भएका जिल्लाले पूर्ण लकडाउन सिफारिस गरे संघीय कोभिड संकट व्यवस्थापन समितिको परामर्शमा प्रदेश सरकारले पूर्ण लकडाउन घोषणा गर्न सक्ने व्यवस्था भएकाले यस्तो अवस्था आइपरे सम्बन्धित जिल्लाले प्रदेशमा सिफारिस गर्न निर्देशन दिने निर्णय गरिएको छ ।

वाग्मती प्रदेश कोरोना कोषमा अहिलेसम्म ४३ करोड १९ लाख २९ हजार ९ सय २ रुपैयाँ संकलन भएको छ भने १ सय १९ वटा पालिकामा १३ करोड ७ लाख र १२ जिल्ला प्रशासन कार्यालयहरूमा ६० लाख निकासा गरिएको छ । प्रदेश सरकारबाट सामाजिक विकास मन्त्रालयमार्फत विभिन्न स्वास्थ्य निकायमा १६ करोड ३१ लाख ५१ हजार र संघीय ससर्त अनुदानबाट प्राप्त २ करोड ७० लाख गरी १९ करोड १ लाख ५१ हजार रुपैयाँ निकासा भएको छ ।

प्रकाशित : असार १४, २०७७ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?