रामेछापमा आइसोलेसन बनाउन स्थानीयको अवरोध

टीकाप्रसाद भट्ट

रामेछाप — सरकारले कोरोना संक्रमितलाई राख्न आइसोलेसन बनाउने तयारी गरेको विद्यालय भवनमा बाबियाखर्कबासीले मंगलबार तालाबन्दी गरेका छन् । जिल्ला अस्पतालनजिकै अरू विद्यालय हुँदाहुँदै बाबियाखर्कको शारदा संस्कृत माविमा आइसोलेसन बनाउने निर्णयको उनीहरूले विरोध गरेका हुन् ।

रामेछापमा आइसोलेसन बनाउन स्थानीयको अवरोध

स्थानीयको भेलाले विद्यालयमा आइसोलेसन बनाउन नदिन संघर्ष समिति बनाउने निर्णयसमेत गरेको छ । दुई दिनअघि कोरोना संक्रमण नियन्त्रण समितिको बैठकले रामेछाप नगरपालिकामा ५० वटा र मन्थली नगरपालिकामा ५० वटा आइसोलेसन कक्ष बनाउने निर्णय गरेको थियो । मन्थली नगरपालिकामा भने पोलिटेक्निक इन्स्टिच्युटमा ३० र प्राथमिक स्वास्थ्य केन्द्रमा २० बेडको आइसोलेसन तयार गर्ने निर्णय छ ।

स्थानीयले आइसोलेसन कक्ष सुरक्षा, अस्पताल र स्वास्थ्यकर्मीको निगरानीमा हुनुपर्नेमा बाबियाखर्क यी तीनै हिसाबले अपायक रहेको दाबी गरेका छन् । संघर्ष समिति संयोजक बद्री नयाँघरेले विद्यालय सञ्चालनको वातावरण बनाइसकेको र जिल्लामा संस्कृत अध्यापन हुने एक मात्र थलोमा संक्रमित राख्न नदिने बताए । समितिले प्रमुख जिल्ला अधिकारी र रामेछाप नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका छन् ।

रामेछापमा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन कक्ष निर्माणका लागि दबाब बढेको हो । यसअघि जिल्ला अस्पतालमा १४ बेडको आइसोलेसन कक्ष थियो । अहिले त्यहीँ थपथाप गरेर संक्रमित राखिएका छन् । प्रजिअ रुद्रादेवी शर्माले राज्यको निर्णयअनुसारै गरिएकाले सोही विद्यालयमा आइसोलेसन बनाउने बताएकी छन् । ‘समाजमा आइपर्ने समस्या समाधानका लागि स्थानीयले सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

प्रकाशित : असार ३, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?