२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सिन्धुलीमा कुखुरा उत्पादन घट्दा मासु दोब्बर महँगो

राजकुमार कार्की

सिन्धुली — लकडाउनमा ब्रोइलरको उत्पादन घटेपछि अभाव देखाउँदै जिल्लाका व्यापारीले कुखुराको मासु दोब्बर महँगोमा बेच्न थालेका छन् । व्यवसायीले लकडाउन सुरु भएसँगै फार्ममा चल्ला नथपेको र भएको पनि नबिकेर नष्ट गर्नुपरेपछि अहिले अभाव भएको हो ।

सिन्धुलीमा कुखुरा उत्पादन घट्दा मासु दोब्बर महँगो

साढे दुई महिनाअघिदेखि नै ब्रोइलर चल्ला खोरमा नहालिएको कमलामाई नगरपालिका–४ ढुंग्रेवासका फ्रेसहाउस सञ्चालक गुणराज श्रेष्ठले बताए । ‘सबैका खोर रित्तै छन् , यतिखेर बजार खुलेको छ तर ब्रोइलर कुखुरा छैन,’ उनले भने । कुखुरा नपाउँदा मासु पसल बन्द हुने अवस्था आएको श्रेष्ठको भनाइ छ ।

यही मौका छापेर व्यापारीले दुई महिनाअघि अढाई सय प्रतिकेजी रहेको कुखुराको मासु अहिले ४ सयमा बेच्ने गरेका छन् । कहीँकहीँ अलिअलि भएको कुखुरा किसानले नै महँगोमा बेच्ने भएकाले मासुको मूल्य बढेको श्रेष्ठले दाबी गरे ।

लकडाउनको बीचतिर तयार भएका ब्रोइलर कुखुरा बिक्री नभएर फाल्नुपरेको दोभानटारका किसान दीर्घराज श्रेष्ठले सुनाए । ‘तीन किलोको कखुराको तीन सय पनि आएन अनि कसरी कुखुरा पालन गर्नु,’ उनले भने । श्रेष्ठले पाँच हजार कुखुरा पालेका थिए । बोइलर कुखुरा ४५ दिनमा खान योग्य हुन्छ ।

सदरमुकाम तथा मरिण गाउँपालिकामा ब्रोइलर कुखुरा काठमाडौंबाट आयात गरी बिक्री हुन थालेको स्थानीय श्रीधर माझीले बताए । ‘काठमाडौंबाट आयात गरेको भनेर फ्रेसहाउस सञ्चालकले महँगोमा बिक्री गरेका छन्,’ उनले भने, ‘खरिद नै महँगो भएको छ भन्छन्, काठमाडौंमा चाहिँ कताबाट आउँछ ?’

सदरमुकाम सिन्धुलीमाढीमा मात्रै चार सयभन्दा बढी किसानले तीन सयदेखि पाँचसयसम्म बोइलरका चल्ला पाल्ने गरेकोमा अहिले कम छ । जिल्लामै दुईवटा पोल्ट्रीफर्मले चल्ला उत्पादन गर्छन् । लकडाउनपछि बिक्री नभएकाले लाखौं चल्ला नष्ट गर्नुपरेको कमलामाई भेट सप्लायर्सका ओमप्रकाश श्रेष्ठले दुखेसो पोखे । फेरि उत्पादन गर्दा बिक्रीको ग्यारेन्टी नभएकाले आफूहरू हच्किएको उनको भनाइ छ । उपभोक्ता मञ्चका अध्यक्ष अच्युतम ढकालले बजार अनुगमन गरी ब्रोइलर कुखुराको मूल्य तोक्न र व्यवसायीलाई मौकाको फाइदा उठाएर बढी रकम नलिन सुझाए । सिन्धुलीमा दैनिक पाँचदेखि १० हजार किलोसम्म ब्रोइलर कुखुराको मासु खपत हुने उनको आकलन छ । ‘यातायात सञ्चालन भएको समयमा होटलमा बढी खपत हुने भएकाले त्यसको तेब्बर बिक्री हुन्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २८, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?