कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

निजीका पाठ्यपुस्तक किन्न बाध्य सामुदायिकका बालबालिका

चर्को शुल्क लिइएपछि अभिभावक आक्रोशित
अनिश तिवारी

सिन्धुपाल्चोक — सुनकोसी गाउँपालिका–६ टिमुरेस्थित कोल्दुङ माध्यमिक विद्यालयले निजी स्कुलको पुस्तक चलाएपछि अभिभावक चर्को शुल्कमा पाठ्यपुस्तक किन्न बाध्य बनेका छन् । जनक शिक्षा सामाग्रीले अंग्रेजी माध्यमकै पाठ्यपुस्तक उपलब्ध गराएपनि बोर्डिङको पुस्तक ल्याएर बिक्री वितरण गरिएको सुनकोसी–६ मा रहेको कोल्दुङ माध्यमिक विद्यालयका प्रधानध्यापक शिव कार्कीले स्विकारे ।

निजीका पाठ्यपुस्तक किन्न बाध्य सामुदायिकका बालबालिका

‘विद्यालय व्यवस्थापन समितिको निर्णय र गाउँपालिकाको योजनाअनुरुप यी पाठ्यपुस्तक दिइएको हो, अरु विद्यालयभन्दा हामी अगाडी भयौं यति मात्रै हो,’ उनले भने । लकडाउनका कारण पुस्तक ल्याउन कठिनाइ हुने भएकाले बलेफी गाउँपालिकाको खाडीचौर बजारस्थित सिन्धुसदाबहार बोर्डिङ स्कुलकै माध्यमबाट पाठ्यपुस्तक ल्याएर बालबालिकालाई दिइएको उनले सुनाए ।

कोल्दुङ माविमा उनका अनुसार शिशुदेखि ५ सम्मका ४५ जना बालबालिकालाई सिन्धुसदाबहार बोर्डिङकै अंग्रेजी माध्यमका पाठ्यपुस्तक दिइएको छ । ६ देखि ८ सम्म गणित, विज्ञान, व्याकरण, स्वास्थ्य, अतिरिक्त गणितजस्ता विषयको अंग्रेजी माध्यमका पाठ्यपुस्तक थपिएको उनले बताए । एकसय ३५ बालबालिका अध्ययनरत कोल्दुङ माविबाहेक अन्य केही विद्यालयमा अंग्रेजी माध्यमको पुस्तक बिक्री वितरण गरिरहेको खबर पाएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कृष्ण सुवेदीले बताए । ‘अभिभावक र स्थानीयबाट यसबारे व्यापक गुनासो आएको छ, तत्कालै स्थानीय तहसँग यसबारे छलफल जानेछांै, बालबालिकाबाट पैसा लिन सर्वथा गलत छ,’ उनले भने ।

पाठ्यपुस्तकमा चर्को शुल्क लिएकोबारे बताउँदै अभिभावक ।

जिल्लाभर ५ सय २८ विद्यालयमा झण्डै ६५ हजार बालबालिका आहिले घरमै बसेर नयाँ पाठ्यपुस्तक पढ्दैछन् । लकडाउनको मारमा विद्यालयबाट बोर्डिङको महँगो पुस्तकको मूल्य तिर्नुपरेपछि अभिभावक आक्रोशित बनेको सुनकोसी गाउँपालिकाका गाउँ शिक्षा समितिका संयोजक नेत्र कार्कीले बताए । ‘जताततैबाट गुनासो आइरहेको छ, गाउँपालिकाबाट केही निर्णय र गाउँ शिक्षा समितिबाट यसबारे केही अनुमोदन भएको छैन् , यसबारे बझ्दैछाैं,’ उनले भने ।

यसबारे अभिभावक वर्गले चर्को मूल्यको बिल नै सामाजिक सञ्जालमा राखेर विरोध जनाएका छन् । पूर्वसचिव भिम उपाध्ययले कोल्दुङ माविमा कक्षा ५ मा पढ्ने छिरिङ तामाङको नाममा विद्यालयबाट काटिएको दुई हजार एकसय ७० रुपैयाँको बिल पोस्ट गर्दै ‘सरकारी स्कुलमा पाठ्यपुस्तक नि:शुल्क दिइँदैन र ?’ भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालदेखि सबैतिर आक्रोशित अभिभावकले जनप्रतिनिधिलाई गुहारेको र त्यहाँ नभए अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाउने तरखरमा रहेको अगुवा प्रमोद लामाले बताए । ‘यसले विद्यालय र सम्पूर्ण शिक्षा प्रणालीमाथि प्रश्न खडा गरेको छ, सरकारले निशुल्क दिने पाठ्यपुस्तकको बदलामा यहाँ महँगो शुल्क तिर्नुपरेको छ । यो कहाँको न्याय हो र ?,’ उनले प्रश्न गरे ।

बिल नदिइ चर्को शुल्क

कोल्दुङ माविमा छोराछोरीका लागि महँगो मूल्य तिरेर बोर्डिङकै पाठ्यपुस्तक किन्नुपरेको अभिभावक नुर्पु तामाङले गुनासो गरे । कक्षा ३ मा पढ्ने निङ्मा तामाङ र कक्षा ५ मा अध्ययनरत एपेक्स तामाङको लागि पाठ्यपुस्तक किन्दा बिल नदिइकन पैसा मात्रै लिएको उनले बताए । ‘एक जना बराबर दुई हजार एकसय ७० रुपैयाँ तिरेर पाठ्यपुस्तक ल्याए, बिल माग्दा दिनुभएन, छुट पनि पाइएन्,’ उनले भने । अभिभावक कमल तामाङले सुरुमा दुई हजार एकसय ७० रुपैयाँ लिएपनि एक हजार ५ सयको मात्रै बिल काटेको बताए । ‘लिए बराबरकै बिल काट्न दबाब दिएपछि दुई हजार एकसय ७० रुपैयाँकै बिल काटे, विद्यालयको भित्तामा सबै पाठ्यपुस्तकको मूल्यसूची टाँसेर धमाधम बिक्री गरिँदैछ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २४, २०७७ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?