कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बोटमै कुहिन थाले तरकारी

लकडाउनका कारण खपत नभएको भन्दै व्यापारी आउन छाडेपछि काभ्रेका कृषकका तरकारी खेतबारीमै छन् । कहिलेकाहीँ अलिअलि विक्री भइहाले पनि मूल्य पाउन छाडेको उनीहरूको गुनासो छ ।
नगेन्द्र अधिकारी

काभ्रे — आफूले फलाएको तरकारी विक्री नभएको भन्दै पाँचखालका कृषकले खेतबारीमै फाल्न थालेका छन् । कतिपय बोटमै कुहिन थालेका छन् भने विक्री भएका तरकारीले पनि उचित मूल्य पाएका छैनन् ।

बोटमै कुहिन थाले तरकारी

कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनले तरकारी खपत नभएको भन्दै व्यापारीले किन्न नमानेका हुन् । ‘७ रोपनी जग्गामा गोलभेडा, भेडे खुर्सानीलगायत तरकारी लगाएको छु तर मूल्य नै पाइँदैन,’ पाँचखाल–४ का काशीनाथ न्यौपानेले भने, ‘आज मात्रै गोलभेडा टिप्न ८ जना खटिएका छौं, ज्याला ४८ सय लाग्छ, व्यापारीले २५ किलो अट्ने क्रेटको १ सय रुपैयाँ दिन्छ, ज्याला मात्रै उठाउन पनि ४८ क्रेट गोलभेडा चाहिने भयो ।’ अघिल्लो वर्ष प्रतिक्रेट १ हजार ८ सयसम्म मूल्य लिएका उनले तरकारी विक्रीबाटै ७ लाख कमाएका थिए ।

पाँचखाल–५ का कृषक ईश्वर मिजारले विभिन्न कारण देखाउँदै व्यापारीले तरकारी किन्न नमानेको गुनासो गरे । ‘विक्री छैन, क्रेट छैनलगायत कारण देखाउँदै स्थानीय व्यापारी तरकारी किन्नै मान्दैनन्,’ ८ रोपनी जग्गा अधियामा कमाएका उनले भने, ‘६० हजार खर्च भइसक्यो, अहिलेसम्म १५ क्रेट गोलभेडा बेचे, त्यसको १५ सय नै आउने होला, फर्सीलगायत तरकारीको माग नै छैन भनेर बोटमै त्यतिकै छाडेका छौं ।’

स्थानीय व्यापारी (बिचौलिया) ले पाँचखालमा कृषकसँग गोलभेडा प्रतिक्रेट १ सयदेखि २ सय रुपैयाँ, भेडे खोर्सानी प्रतिकिलो ५ देखि १० रुपैयाँ, बोडी प्रतिकेजी ३० देखि ३५ रुपैयाँ, सिमी र काँक्रो २० रुपैयाँसम्म खरिद गर्ने गरेका छन् । ‘ढुवानी खर्च र केही फाइदा राखेर विक्री गर्छौं, गोलभेडामा १ सयसम्म प्रतिक्रेट र अरू तरकारीमा ५ देखि १० रुपैयाँ प्रतिकिलो फाइदा राख्ने हो,’ स्थानीय व्यापारी माइला लामाले भने, ‘बनेपा, कालिमाटीलगायत बजारमा लैजाँदा कहिलेकाहीँ विक्री हुँदैन अनि ढुवानी खर्च र कामदारको खर्च घाटा बेहोर्नुपर्छ ।’

स्थानीय व्यापारीमार्फत होलसेलमा आइपुग्ने तरकारी १० देखि २० रुपैयाँ प्रतिकिलो फाइदा लिएर विक्री हुन्छ । बनेपामा तरकारीको होलसेल सञ्चालन गर्दै आएका माधव श्रेष्ठका अनुसार शुक्रबार गोलभेडा प्रतिक्रेट ४ सयमा खरिद भएको थियो । १६ रुपैयाँ प्रतिकेजी लागत परेको गोलभेडा २५ देखि ३० रुपैयाँ प्रतिकेजी विक्री हुने गरेको छ । ‘दिनदिनै भाउ फरक छ, हामीले प्रतिकिलो १० रुपैयाँ फाइदा लिएर बेच्ने हो,’ श्रेष्ठले भने, ‘खुर्सानीका सबै प्रकार प्रतिकेजी ३० र बोडी ४० रुपैयाँमा विक्री गर्छौं ।’

नगरप्रमुख महेश खरेल कृषकका उत्पादन सहजै विक्री गर्न आफूले पहल थालेको बताउँछन् । ‘लकडाउनका कारण काठमाडौंलगायतका प्रमुख सहरमा खपत कम हुँदा केही समस्या भएको हो,’ उनले भने, ‘काठमाडौं, सिन्धुपाल्चोक, दमौली, पोखरालगायत स्थानमा पाँचखालको तरकारी पठाउने गरी सहजीकरण गरेका छौं ।’

नगरका कृषि शाखा प्रमुख ईश्वर अधिकारीका अनुसार यहाँ २६ हजार ५ सय रोपनी क्षेत्रफलमा तरकारी खेती हुने गर्छ ।

विषादी प्रयोग घटाउँदै

पाँचखालका किसानले पछिल्ला दिन तरकारी उत्पादनमा रासायनिक विषादीको प्रयोगमा निकै कमी ल्याएका छन् । यसले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने बुझेपछि उनीहरू जैविक खेतीमा आकर्षित भएका छन् । जिल्लामा स्थापित विषादी अवशेष नियमन प्रयोगशालामा संकलित नमुनाको परीक्षणले पनि पाँचखालका तरकारी खान ‘सुरक्षित’ रहेको देखाएको छ ।

वाग्मती प्रदेशको कृषि तथा सहकारी मन्त्रायलयको सहयोगमा कृषि ज्ञान केन्द्र धुलिखेलमा स्थापित प्रयोगशालाले तरकारीमा अर्गानोक्लोरिन र अर्गानोफोस्फेट समूहका विषादीको अवशेष मापदण्डभित्रै रहेको देखाएको हो ।

पाँचखाल, केराघारीलगायत क्षेत्रबाट गोलभेंडा, भन्टा, भिन्डी, बोडी, काँक्रो, चिचिन्डो, घिरौंला, तीतेकरेला र सिमीलगायत ताजा तरकारीको नमुना परीक्षण गर्दा सुरक्षित पाइएको केन्द्रका प्रमुख जनार्दन खड्काले जानकारी दिए ।

यसअघि पाँचखालका तरकारीमा व्यापक मात्रामा विषादी हुने गरेको गुनासो व्यापक थियो । केन्द्रका अनुसार सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगा, सिन्धुलीलगायत जिल्लामा पनि विषादी काभ्रेबाटै निर्यात हुन्छ । यहाँ भित्रिने विषादीको ५० प्रतिशत काभ्रेमै खपत हुन्छ । अन्य जिल्लाको तुलनामा तरकारी खेती बढी हुने भएकाले विषादी पनि यहीँ बढी खपत भएको केन्द्रले जनाएको छ ।

पाँचखाल नगरपालिका र विभिन्न गैरसरकारी संस्थाले विषादीको प्रयोग र असरबारे कक्षा सञ्चालन गरेपछि प्रयोगमा कमी हुँदै गएको नगरका कृषि शाखाप्रमुख ईश्वर अधिकारीले बताए । ‘नगरका प्रत्येक वडामा २/३ वटा आईपीएम कृषक पाठशाला सञ्चालन गरेर विषादी प्रयोग र असरबारे जानकारी दिएका छौं,’ उनले भने, ‘कृषक सचेत भइरहेका छन्, विगतको तुलनामा विषादीको प्रयोग कम र व्यवस्थित हुँदै गएको छ ।’

काभ्रेमा ९ हजार २ सय ५३ हेक्टर क्षेत्रफलबाट वार्षिक १ लाख ७१ हजार ३ सय ३८ मेट्रिकटन तरकारी उत्पादन हुन्छ ।

प्रकाशित : जेष्ठ २४, २०७७ १३:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?