कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मतीका क्वारेन्टाइनमा बस्ने २ दिनमै दोब्बर

सुवास विडारी

मकवानपुर — भारतबाट फर्किनेको संख्या बढेसँगै वाग्मती प्रदेशका क्वारेन्टाइन भरिन थालेका छन् । यहाँ पछिल्लो दुई दिनमै क्वारेन्टाइनमा बस्नेको संख्या दोब्बरले बढेको छ ।

वाग्मतीका क्वारेन्टाइनमा बस्ने २ दिनमै दोब्बर

क्वारेन्टाइनमा बस्नेको संख्या बिहीबार दोब्बर पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । ‘भारतबाट धेरै संख्यामा नेपाली आइरहेका छन् । कतिपय स्वदेश फर्किने उद्देश्यले सीमामा आएर अलपत्र परेका छन् । नेपाल आएकाहरूलाई हामीले क्वारेन्टाइनमा राखिरहेका छौं’, मन्त्रालयका प्रवक्ता तथा अस्पताल विकास चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तमराज सेढाईंले भने ।

प्रदेशका क्वारेन्टाइनमा बिहीबारसम्म ३ हजार ७ सय ११ जना छन् । मंगलबार यो संख्या १ हजार ७ सय ५४ थियो । दुई दिनभित्र १ हजार ९ सय २० जना थपिएका छन् । प्रदेशका १३ वटै जिल्लामा गरी ६ हजार ६ सय ९६ बेडका क्वारेन्टाइन छन् । सबैभन्दा धेरै धादिङमा १ हजार ६० बेड छन् । तिनमा ६ सय ५२ वटा भरिभराउ छन् । चितवनमा ३ सय, नुवाकोटमा १ हजार २ र काठमाडौंमा ७ सय ९९ बेड स्थापना गरिएको छ । चितवनमा बेडको क्षमताभन्दा धेरै १ हजार ३ सय ८५ जना क्वारेन्टाइनमा बसेका छन् । मंगलबारसम्म चितवनमा १९ जना मात्रै क्वारेन्टाइनमा थिए ।

नुवाकोटका ५ सय ३९ र काठमाडौंमा ४० जना क्वारेन्टाइनमा छन् । ६ सय १९ बेड स्थापना गरिएको दोलखामा क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय ८६ छ । ३ दिनअघिसम्म काठमाडौं र दोलखाका क्वारेन्टाइन र आइसोलेसन खाली थिए । सिन्धुलीमा १ सय ९०, ललितपुरमा ६८, मकवानपुरमा ९३, रामेछापमा १ सय ४२, काभ्रेमा ९७ र सिन्धुपाल्चोकमा ९२ जना क्वारेन्टाइनमा बसेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आइसोलेसनमा बस्नेको संख्यामा भने बढेको छैन । प्रदेशका सबै जिल्लामा गरी ९ सय ९१ आइसोलेसन बेड तयारी अवस्थामा छन् । तिनमा ४३ जना मात्रै बसेका छन् ।

आइसोलेसनमा बस्ने सबैभन्दा धेरै मकवानपुरका ८ र चितवनका १२ जना छन् । सिन्धुपाल्चोकमा ५, धादिङमा ६, भक्तपुरमा ४, ललितपुर र रामेछापमा ३–३ तथा नुवाकोटमा २ जना मात्रै आइसोलेसनमा छन् ।

वाग्मती प्रदेशमा बुधबारसम्म ३१ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार प्रदेशमा ५७ जना संक्रमित देखिएका छन् । बाँकी २३ जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत छन् । कुल संक्रमितमध्ये सिन्धुपाल्चोक, ललितपुर र दोलखामा एक–एक जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । काठमाडौंमा २३, मकवानपुरमा ६, चितवनमा ६, भक्तपुरमा ५, धादिङमा ४, सिन्धुपाल्चोक र सिन्धुलीमा २–२, काभ्रे, रामेछाप र दोलखामा एक–एक तथा ललितपुर र नुवाकोटमा ३–३ जना संक्रमित देखिएका छन् । रसुवामा भने अहिलेसम्म संक्रमित छैनन् ।

प्रदेशमा हालसम्म ९ हजार ८ सय ६ जनाको पीसीआरबाट स्वाब परीक्षण गरिएको छ । आरडीटीबाट २६ हजार ५१ जनाको एन्टिबडी परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?