कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

'घाँटी मरुवा'ले यसरी सिध्याउँदैछ चैते धानलाई

यो रोग लागेपछि धानको बाला सुकेर पहेँलो देखिन्छ । हर्दिनाथ लगाएको खैरहनीका साथै राप्ती नगरपालिकाका किसानले पनि यस्तै समस्या भोगिरहेका छन् ।
रमेशकुमार पौडेल

चितवन — यो रोग लागेपछि धानको बाला सुकेर पहेँलो देखिन्छ । हर्दिनाथ लगाएको खैरहनीका साथै राप्ती नगरपालिकाका किसानले पनि यस्तै समस्या भोगिरहेका छन् ।

'घाँटी मरुवा'ले यसरी सिध्याउँदैछ चैते धानलाई

खैरहनी नगरपालिका–१० कठारको खरखुट्टे गाउँमा चैते धानको खेती निकै राम्रो हुन्छ । यतिबेला बाहिरबाट हेर्दा धान पाकेर झुलेझैं देखिन्छ । फाँट पहेँलपुर छ । तर नजिकै गएपछि अवस्था अर्कै देखिन्छ । धान पाकेर होइन घाँटी मरुवा अर्थात् नेक ब्लास्ट नामक रोगले बाला सुकेर पहेँलो देखिएको हो ।

‘मैले लगाएको सबै १६ कट्ठा खेतको धानको हालत यस्तै छ,' दुर्गादेवी आचार्यले भनिन्, 'यसपटक चैते धानको एक गेडो पनि भित्र्याउन नपाइने भयो ।’ सोही गाउँका कृष्ण अर्यालले ३८ कट्ठामा लगाएको धानको हालत पनि उस्तै छ । ‘सुरुमा लगाएको धानमा छपक्कै बाला मरिसक्यो । केहीपछि लगाएको धानमा देखा पर्दैन कि भनेको अहिले २/४ दिन भयो लगभग सबै बाला सेतै देखिन थाले । अरु पनि नजोगिने भयो,’ अर्यालले भने ।

कठारमा मात्रै होइन चैते धानको खेती हुने पूर्वी चितवनको सबै क्षेत्रमा यो समस्या देखिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका कृषि अधिकृत माधव पौडेलका अनुसार चितवनमा लगभग ५ हजार हेक्टर जमिनमा चैते धान खेती हुन्छ । त्यसमध्ये अधिकांश खेती पूर्वी चितवनमै हुन्छ । पूर्वी चितवनको राजमार्ग दक्षिणको २६ सय हेक्टरलाई परियोजनाले ‘धान जोन’ घोषणा गरेको छ ।

किसानहरुले हर्दिनाथ–१, घ्युपुरी, पीआरजस्ता धान चैतमा रोप्ने गर्छन् । सबैभन्दा धेरै हर्दिनाथ–१ को खेती हुने गर्छ । कृषि अधिकृत माधव पौडेल ७० प्रतिशत हर्दिनाथ–१ र बाँकी ३० प्रतिशत अन्य धान रोप्ने चलन रहेको बताउँछन् । घाँटी मरुवा रोगको प्रकोप सुरुमा हर्दिनाथ–१ रोपेको ठाउँमा देखियो । अन्य धानमा फाट्टफुट्ट समस्या देखिए पनि हर्दिनाथ–१ रोपेको ठाउँमा सखापै भएको किसान अर्यालले बताए ।

कृषि अधिकृत माधव पौडेलका अनुसार हर्दिनाथ लगाएको खैरहनीका साथै राप्ती नगरपालिकामा पनि यस्तै समस्या देखिएको छ । ‘रत्ननगरमा पनि फाट्टफुट्ट आएको छ रे । त्यहाँ एक हप्तापछि धान रोप्ने चलन छ । पछि रोपेको ठाउँमा समस्या नआउन पनि सक्छ । या त यहाँ अहिले आएजसरी केही समयपछि ह्वात्तै देखिन पनि सक्छ,’ अधिकृत पौडेलले भने । रोगका कारण ५० प्रतिशतभन्दा बढी उब्जनी नोक्सान हुने उनले बताए ।

हर्दिनाथ–१ नेपाली हाइब्रिड जात हो । यो धेरै फल्छ । प्रतिहेक्टर ६ टनसम्म धान उत्पादन हुन्छ । असिानले कम नोक्सान गर्ने, हावाहुरीले पनि ठूलो क्षति नपुर्‍याउने खालको भएकाले किसानहरुले मन पराउने किसान कृष्णप्रसाद अर्यालले बताए ।

यो धानमा अघिल्लो वर्ष पनि नेक ब्लास्टको समस्या देखिएको थियो । विषादी छर्के रोग नियन्त्रणमा आउँथ्यो । यो ढुसीजन्य रोग हो । तर लगातार पानी परेका कारण विषादी छरे पनि पखालिने भएका कारण प्रभावकारी हुन नसकेको कृषि अधिकृत पौडेलले बताए । ‘विषादी छरेपछि पानी परेकै छ । आज विषादी छर्‍यो, पानी आयो भने रोग झन् फैलन थाल्यो,’ अर्यालले अनुभव सुनाए । यो क्षेत्रमा गएको वर्ष वर्षे धानमा गरिमा धान नफलेर ठूलो क्षति पुगेको थियो । अहिले नेक ब्लास्टको मार किसान भोगिरहेका छन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?