मन्थलीमा साप्ताहिक हाटबजार खुल्यो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछाप बजारमा साप्ताहिक बिहीबारे हाटबजार लागेको छ । चैत ११ देखिको लकडाउन रोकिएको हाटबजार बिहीबार खुलेको हो ।

हाटबजारमा स्थानीय उत्पादनदेखि फेन्सीका सामानहरु राखिएका थिए । लकडाउनको पर्वाह नगरी हाटबजारमा खरिद बिक्री गर्नका लागि सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो । हाटबजार खोल्ने विषयमा कसैले पनि निर्णय गरेका छैनन् ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षतामा भएको बैठकले जिल्लाका प्रायः सबै व्यवसायलाई दिनको १ बजेसम्म खोल्ने निर्णय गरेको छ । शैलुन, होटल,ब्युटि पार्लर र कस्मेटिक बाहेकका अरु व्यवसाय दूरी कायम राखेर सञ्‍चालन गर्ने निर्णय बैठकले गरेको हो ।

लकडाउनले व्यवसाय क्षेत्रमा नराम्रो प्रभाव परेको भन्दै व्यवसाय खोल्नका लागि दबाब आइरहेको बेला बसेको उक्त बैठकमा व्यवसायी, जनप्रतिनिधि र राजनीतिक दलका अगुवाहरुले बजार खोल्नु पर्ने राय दिएका थिए । रामेछाप उद्योग वाणिज्य संघले सबै प्रकारको व्यवसाय खोल्न पाउनु पर्ने माग गर्दै थियो । यसअघि खाद्यान्न, तरकारी, फलफूल, निर्माण सामाग्री र औषधिको व्यवसायलाई भने बिहान ६ देखि १० बजे सम्म खोल्न अनुमति थियो ।

अनुमति नभएपनि आधा सटर खोल्ने र सटरमा सम्पर्क नम्बर राखेर भित्रैबाट सामाग्री विक्री गर्ने क्रम भने रोकिएको थिएन । लकडाउनको अवधि झण्डै ३ महिना भइसकेकोले सबै प्रकारको सामाग्रीको माग भएको भन्दै खाद्य सामाग्रीमा मात्र केन्द्रित हुनु नहुने व्यवसायीको गुनासो थियो ।

प्रकाशित : जेष्ठ २२, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — किसानको उत्पादनबाट कोरोना फैलिन्छ भनेर अनधिकृत रूपमा तरकरी नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न संसदीय समितिले गृहमन्त्रालयलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकले कानून हातमा लिएर किसानको उत्पादन नष्ट गर्ने व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएको हो । 

केही समय पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो । संसदीय समितिले उक्त कार्यप्रति गम्भीर आपत्ति जनाउँदै कारबाही गर्न गृहमन्त्रालयलाई निर्देशन दिएको हो ।

'कोभिड- १९ रोकथाम गर्ने सम्बन्धमा कानूनलाई हातमा लिइ अनधिकृत रूपमा तरकारी तथा फलफूल नष्ट गर्ने सम्बन्धित व्यक्तिलाई कानुनबमोजिम कारबाही गरी किसानका तरकारी निर्वाध रूपमा ओसारपसार गर्न सक्ने व्यवस्था गर्नू,' समितले गृहमन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई खाद्य पदार्थमा हुने अखाद्य पदार्थको मिसावट रोक्न र आवश्यक खाद्यान्न संचिति कायम गरी महामारीमा खाद्यान्न अभाव हुन नदिने कार्य अगाडि बढाउन निर्देशन दिएको छ ।

प्रकाशित : जेष्ठ २२, २०७७ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×