राहत वितरणमा ठगी : चामल बोरामा ३ केजी कम

लकडाउनमा मजदुरका लागि वितरण गरिएको चामलमा घोटाला भएको भन्दै ६ राजनीतिक दलले छानबिनको माग गरेका छन् ।
राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका-१४ का वडाध्यक्ष जितलाल अधिकारी दनुवारले राहत वितरणका लागि वडामा आएको ३ सय २० बोरा चामलसहितको प्याकेज बुझे । चामलको बोरा उचालेपछि उनलाई शंका लाग्यो ।

राहत वितरणमा ठगी : चामल बोरामा ३ केजी कम

नजिकै रहेको पसलमा बोरा तौलिए । २० किलो हुनुपर्नेमा १८ किलोमात्र भयो । एउटा बोरा त्यस्तो भएको हो कि भनेर १० बोरा पालैपालो तौलिए तर कुनै बोरा पनि पूरा तौलका थिएनन् ।

कम तौलका चामल पाइएपछि उनले वडा कार्यालयमै राहत प्याकेज थन्क्याएर छानबिनको माग गरेका छन् । वडा १ मा पनि चामलको १७ किलोको मात्र पाइएको छ ।

३ जना वा त्योभन्दा बढी परिवार संख्या भएकालाई २० किलो चामलसहितको राहत प्याकेज वितरण गर्नुपर्नेमा तौल कम भएपछि आफूले नगरप्रमुख खड्गबहादुर खत्रीलाई जानकारी गराएको वडा नं १ का अध्यक्ष महेश्वर खतिवडाले बताए ।

व्यापारी र कर्मचारीहरु मिलेर राहतमा घोटाला गरिएको उनको आरोप छ । वडा नं १४ का अध्यक्ष दनुवारले छानबिन भएर दोषीलाई कारबाही नभएसम्म वितरण नगर्ने बताए । 'एक बोरामा नै ३ किलो कम छ,' उनले भने, 'जानीजानी विपन्न मजदुरलाई ठगी गर्नेलाई कठघरामा नउभ्याई हुन्न ।'

लकडाउनका बेला विपन्न तथा मजदुरका लागि वितरण गरिएको राहतको चामलमा घोटाला भएको भन्दै तत्काल छानबिन गर्न ६ राजनीतिक दलले माग गरेका छन् । विपक्षी कांग्रेस नेतृत्वमा जनता समाजवादी, राप्रपा, देशभक्त गणतान्त्रिक मोर्चा, क्रान्तिकारी माओवादी र राष्ट्रिय जनमोर्चाले सोमबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

राहत वितरणमा भएको घप्लाबाजी र कालोबजारी नियन्त्रणका लागि विपक्षी दलले लकडाउनको अवधिमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको यो दोस्रोपटक हो । १७ बुँदे ध्यानाकर्षणपत्रमा कालोबजारी नियन्त्रण, जिल्ला दररेटको नियमन, बढ्दो सवारीसाधन दुरुपयोग नियन्त्रण, पीसीआर परीक्षणको जिल्लामै व्यवस्था, आइसोलेसन कक्ष विस्तार, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पीपीईको व्यवस्था, बजारका सबै पसल बिहान २ घण्टा लागि खोल्ने व्यवस्थालगायत माग गरिएको छ ।

'कतै तौल कम छ, कतै एउटै चामल बोरामै २ सयको मूल्य फरक परेको छ,' कांग्रेस सभापति उज्ज्वल बरालले भने, ‘यस्तो महामारीमा समेत लुट मच्चाएको कसरी टुलुटुलु हेरेर बस्नु ?’ कमलामाईले खरिद गरेको सोना मन्सुली २० किलोको प्रतिबोरा एक हजार ३ सय ६० मूल्य छ भने सोही चामल उत्ति नै परिमाणको सुनकोसी गाउँपालिकामा एक ५ सय ६० राखिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ योगेन्द्रप्रसाद पाण्डेले राहत वितरणका लागि कम तौल भएको चामलको बोरा तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने र अन्य माग सक्ने जति पूरा गर्ने प्रतिबद्धता प्रकट गरे ।

प्रकाशित : जेष्ठ १९, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?